काठमाठौं । अमेरिकाले १५ हजार नेपालीलाई दशे निकाला गर्ने तयारी गरेको छ । नेपालीसहित करिब ४ लाख आप्रवासीलाई देश निकाला गर्न सक्ने गरी अदालतले बाटो खुला गरेको हो । अब ट्रम्प सरकारले ‘टेम्पोररी प्रोटेक्सन स्टाटस’ (टीपीएस) अन्तर्गत अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई देशबाट निकाल्न सक्नेछ ।
अमेरिकामा नेपालसहित, एल साल्भाडोर, हाइटी, निकारागुआ, सुडान र होन्डुराससहितका १० देशका आप्रवासी बढी छन् ।टीपीएस अन्तर्गत अमेरिकामा बसिरहेका आप्रवासीको संख्या करिब ४ लाख भएको न्यूयोर्क टाइम्सले जनाएको छ । यी सबैलाई अमेरिकाबाट निकाल्न ट्रम्प सरकारलाई बाटो खुलेको छ ।
अमेरिकाको संघीय अपिल अदालतले आप्रवासीको टीपीएस सुविधा खारेज गर्ने निर्णय सरकारको क्षेत्राधिकारभित्र रहेर गरेको ठहर गरेको छ ।
आफ्नो देशमा गृहयुद्ध, प्राकृतिक विपत्ति लगायतका कारणले विभिन्न देशका नागरिकलाई अमेरिकामा कानुनी रुपमा बस्न र काम गर्न अनुमति दिन टीपीएसको सुविधा ल्याइएको थियो । तर राष्ट्रिय सुरक्षामा खतरा भएको तथा रोजगारीमा अमेरिकीलाई प्राथमिकता भन्दै ट्रम्प सरकारले यसअघि नै विभिन्न देशका नागरिकले पाएको टीपीएस सुविधा खारेज गर्ने प्रयास गरेको थियो ।
तर, कानूनी जटिलता र मुद्दा विचाराधीन रहेका कारण उनले टीपीएस सुविधा खारेज गरेर उनीहरुलाई निकाल्न सकिरहेका थिएनन् । तर, सोमबारको अदालतको फैसलाले उनलाई आफ्नो पूरानो निर्णय कार्यान्वयन गर्न बाटो खोलिदिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।