कोरोनाविरुद्धको चिनियाँ खोप तीन महिनासम्ममा उपलब्ध हुनसक्ने

कोरोनाविरुद्धको चिनियाँ खोप तीन महिनासम्ममा उपलब्ध हुनसक्ने

बेइजिङ। चीनमा विकास भइरहेको कोरोनाविरुद्धको खोप दुईदेखि तीन महिनासम्ममा सर्वसाधारणको लागि उपलब्ध हुनसक्ने चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले जनाएको छ। सीडीसीका प्रमुख तथा जीव सुरक्षा विशेषज्ञ गुइजेन वुका अनुसार आगामी नोभेम्बर र डिसेम्बरसम्ममा चिनियाँ खोप सर्वसाधारणको लागि उपलब्ध हुनसक्छ।

गुइजेनले आफैंले पनि खोप प्रयोग गरेको र यसको प्रयोगबाट आफूमा नराम्रा लक्षण नदेखिएको उल्लेख गरेकी छिन्। यद्यपी उनले आफूमा कुन खोप प्रयोग गरिएको छ भनेर नखुलाएको रोयटर्सले जनाएको छ।

रोयटर्सका अनुसार हाल चीनका चारवटा खोप हाल अन्तिम चरणमा प्रवेश गरसकेका छन्। यीमध्ये तीनवटा खोप भने कोरोनाविरुद्ध विभिन्न तवरबाट लडिरहेका व्यक्तिहरुमा प्रयोग भइसकेको छ। सिनोफार्म र सिनोभ्याक बायोटेकले आपतकालीन प्रयोग कार्यक्रम अन्तर्गत हाल तीनवटा भ्याक्सिन विकास गरिरहेका छन्।

अर्को खोप भने क्यानसिनो बायोलोजिक्सले विकास गरिरहेको छ। जसलाई गत जुनमै चिनियाँ सेनामा प्रयोग गर्न अनुमति दिइएको थियो । सिनोफार्मले यसअघि नै यसैवर्षको अन्तिममा आफ्नो खोप सर्वसाधारणको लागि उपलब्ध हुने बताएको थियो।