जुम्लाबाट १९औं सत्याग्रह सुरु गरे डा. गोविन्द केसीले

जुम्लाबाट १९औं सत्याग्रह सुरु गरे डा. गोविन्द केसीले

जुम्ला । डा. गोविन्द केसीले आफ्नो १९औं अनशन जुम्लाबाट सुरु गरेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै उनले जुम्लाको चन्दननाथ-६ रानीचौरमा रहेको बाबिरा मन्दिरमा १९औं अनशन सुरु गरेका हुन् । 

नेपालीको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र वर्तमान सरकारको लुटतन्त्र तानाशाहीतन्त्रविरुद्ध जुम्लामा १९औं सत्याग्रह सुरु गरेको डा. केसीले प्रतिक्रिया दिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने उनको माग छ । 

यस्तै, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउन उनले माग गरेका छन् ।