वाशिङ्टन । अमेरिकी टेक्नोलोजी कम्पनी माइक्रोसफ्टले दाबी गरेको छ– रुस, चीन र इरानसँग जोडिएका ह्याकरहरूले अमेरिकी राष्ट्रपति चुनावसँग जोडिएका व्यक्तिहरूको जासुसी गर्ने प्रयास गरेका छन् ।
माइक्रोसफ्टका अनुसार २०१६ को राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीको चुनाव प्रचारलाई प्रभावित गर्न जुन रुसी ह्याकरहरू सक्रिय थिए, तिनीहरूले अहिले पनि सक्रियता बढाएका छन् ।
'यो स्पष्ट भइसकेको छ कि विदेशी समूहले चुनावलाई निशाना बनाउनका लागि आफ्नो सक्रियता बढाएका छन्,' माइक्रोसफ्टले भनेको छ ।
यसपटक राष्ट्रपति ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडन दुवैको चुनावी प्रचार अभियान ह्याकरको निशानामा छन् ।
यसक्रममा स्ट्रन्टियम समूहसँग सम्बन्धित रुसी ह्याकरहरूले रिपब्लिकन र डेमोक्र्याटसँग जोडिएका २०० भन्दा बढी संगठनलाई निशाना बनाएका छन् ।
स्ट्रन्टियम समूहलाई फेन्सी बीयरको नामले पनि चिनिने बीबीसीले लेखेको छ ।
यस साइबर हमलामा संलग्न एक युनिट छ, जुन रुसी सेनाको जासूसी एजेन्सी जीआरयूसँग संलग्न रहेको बताइन्छ ।
अमेरिकी राष्ट्रपति चुनाव आगामी नोभेम्बरमा हुँदैछ ।