बेलायतमा कोरोनाको दोस्रो वेभ, फेरि बढ्न थाले संक्रमित !

बेलायतमा कोरोनाको दोस्रो वेभ, फेरि बढ्न थाले संक्रमित !

लन्डन । बेलायतमा फेरि पनि कोभिड– १९ का सङ्क्रमितहरूको संख्या बढ्न थालेको छ ।

प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार ९८८ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।

यो संख्या बेलायतमा भेटिएका कोरोनाका सङ्क्रमितहरूको पछिल्ला केही दिनयताको भन्दा निकै धेरै भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन् ।

यहाँ गएको मे महिनाको २२ तारिखका दिनमा ३ हजार २८७ जना सङ्क्रमित देखिएका थिए । त्यसपछि यति ठूलो संख्या आइतबार त्यहाँ नयाँ सङ्क्रमितहरू थपिएका बताइएको छ ।

यहाँ अहिलेसम्मका सङ्क्रमितको संख्या ३ लाख ४७ हजार १५२ जना पुगेको छ । यहाँ यस संक्रमणबाट भएको मृत्युको संख्या ४१ हजार ५५१ जना पुगेको बताइएको छ ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट हानकोकले आइतबार देखिएको यो पछिल्लो संख्या निकै खतरनाक हो, भने ।

उनले केही समययता देखि यहाँ सङ्क्रमितहरू नदेखिएकोमा आइतबार अकस्मात ठूलो संख्यामा देखिएकोले यसले अब यहाँ पनि सङ्क्रमितको संख्या बढ्दै जाने हो कि भन्ने डर बढाएको बताए ।

लन्डनमा कोभिड– १९ को अवस्था सामान्यजस्तो देखिएकोले यहाँको जनजीवनलाई पनि सामान्य बनाइएको थियो । गएका केही हप्तादेखि यहाँ सामान्य रुपमा मात्र संक्रमित देखिएका थिए ।