काठमाडौं । कोरोना भाइरस संक्रमित संख्याका आधारमा तेस्रो स्थानमा रहेको भारत ब्राजिललाई पछि पार्दै दोस्रो स्थानमा पुगेको छ। सोमबार अमेरिकालाई पछ्याउँदै भारत दोस्रो स्थानमा पुगेको हो। जोन्स होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार भारतमा ४२ लाख ४ हजार ६१३ जना कोरोना संक्रमित पुगेका छन्।
भारतको लगत्तै पछि रहेको ब्राजिलमा भने ४१ लाख ३७ हजार ५२१ जना संक्रमित पुगेका छन्। शीर्ष स्थानमा रहेको अमेरिकामा भने ६२ लाख ७६ हजार ३६५ जना संक्रमित रहेको विश्वविद्यालयको तथ्यांक छ।
मृतक संख्याका आधारमा भने भारत तेस्रो स्थानमा नै छ। भारतमा ७१ हजार ६४२ जना संक्रमितको मृत्यु भएको छ भने ब्राजिलमा १ लाख २६ हजार ६५० संक्रमितको मृत्यु भएको छ। शीर्ष स्थानको अमेरिकामा १ लाख ८८ हजार ९४१ जनाको मृत्यु भएको तथ्यांक विश्विद्यालयले अद्यावधिक गरेको छ।
भारतमा २४ घण्टामा ९० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार ९० हजार ८ सय २ संक्रमित थपिएका हुन्। यस्तै, २४ घण्टामा १ हजार १६ जनाको मृत्यु भएको छ।