नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घन्टामा ९० हजार बढी कोरोना भाइरसको संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै धेरै हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घन्टामा ९० हजार ६ सय ३३ संक्रमित थपिएका हुन् । अहिलेसम्म कुनै पनि मुलुकमा एकैदिन यति धेरै संक्रमित थपिएका थिएनन्।
योसँग भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १३ हजार ८ सय १२ पुगेको छ। तीमध्ये ८ लाख ६२ हजार ३ सय २० जना सक्रिय संक्रमित छन् भने ७० हजार ६ सय २६ जनाको मृत्यु भएको छ।
शनिबार अहिलेसम्मकै बढी संक्रमित थपिएपछि भारत धेरै कोरोना भाइरस संक्रमित भएका देशमा दोस्रो स्थानमा उक्लेको छ। यसअघि दोस्रो स्थानमा रहेको दक्षिण अमेरिकी मुलुक ब्राजिललाई पछि पार्दै भारत अमेरिकापछि धेरै संक्रमित हुने दोस्रो मुलुक बनेको हो।