भारतमा भेटिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

भारतमा भेटिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस थप आक्रमक भएको छ । बुधबारका दिन भारतमा आजसम्मकै उच्च संक्रमण देखिएको हो ।बुधबारको तथ्यांक अनुसार, भारतमा एकैदिन ८३ हजार ८६० जनामा संक्रमण देखिएको हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार ९६८ पुगेको छ ।

यही गतिमा संक्रमण चुलिंदै जाने हो भने भारत यो हप्ताभित्र संसारको दोश्रो उच्च संक्रमण हुने देशमा गनिने छ । अहिले ४० लाख संक्रमितसँगै ब्राजिल दोश्रो स्थानमा छ भने अमेरिका सबैभन्दा उच्च संक्रमण भएको देशमा रहेको छ ।

भारतमा अगस्तको अन्तिम साता कोरोना संक्रमणमा उल्लेख्य बृद्धि भएको हो । पछिल्लो दिनमा प्रतिदिन ७५ हजार भन्दा बढीमा संक्रमण देखिँदै आएको छ । अहिलेसम्म भारतमा २९ लाख ६७ हजार ३९६ जना निको भएको छन । कोरोनाका कारण ६७ हजार ३८६ जनाको निधन भएको छ ।

अगस्त महिनामा मात्रै २.३२ लाख एक्टिभ केस बढेका थिए । विगत भन्दा बिरामी निको हुने दर समेत घटेको छ ।