नयाँ दिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था पुनः नाजुक बनेको उनको उपचार गरिरहेको दिल्लीस्थित आर्मी अस्पतालले जनाएको छ । आर्मी अस्पतालले सोमबार दिएको जानकारी अनुसार पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था आइतबारदेखि पुनः नाजुक बनेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
पूर्व राष्ट्रपति मुखर्जी अहिले पनि कोमामा छन् र उनलाई भेन्टिलेटरको सहायता प्रदान गरिएको अस्पतालले जनाएको छ । उनको फोक्सोमा संक्रमण भएको छ र विशेषज्ञ डाक्टरहरुले निगरानी गरिरहेको आर्मी अस्पतालले उल्लेख गरेको छ ।
अगस्ट १० मा ब्रेन कल्टको शल्यक्रिया गर्नका लागि गरिएको परीक्षणको क्रममा मुखर्जी कोरोना भाइरसबाट संक्रमित भएको पनि पुष्टि भएको थियो ।
यता भारतमा विश्वकै अहिलेसम्मको एकैदिनको उच्च सङ्क्रमण वृद्धि पाइएको छ। विश्वको तेस्रो उच्च सङ्क्रमित सङ्ख्या रहेको भारतमा आइतवार ७८ हजार ७८१ जना सङ्क्रमित थपिएका छन्। यसअघि १७ जुलाईमा ७८ हजार २९९ सङ्क्रमित सहित अमेरिकामा विश्वकै उच्च दैनिक सङ्क्रमण पाइएको थियो।