नयाँ दिल्ली । भारतमा फेरि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ बुधबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ९९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ३३ लाख ७ हजार ७४९ पुगेको छ । मंगलबार भारतमा ६६ हजार ८७३ जना संक्रमित थपिएका थिए ।
भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित विश्वकै तेस्रो देश हो । तर, भारतमा सबैभन्दा बढी प्रभावितको सूचीमा पहिलो अमेरिका र दोस्रो ब्राजिलको भन्दा बढी दैनिक संक्रमित थपिन थालेका छन् । बुधबार पनि भारतमा कोरोना संक्रमितको संख्याले रेकर्ड कायम गरेको छ । बुधबार अमेरिकामा ४४ हजार ६३७ संक्रमित तथा १२ सय ८९ जनाको मृत्यु र ब्राजिलमा ४७ हजार ८२८ संक्रमित तथा एक हजार ९० जनाको मृत्यु भयो ।
अगस्तको पहिलो सातादेखि नै भारतमा प्रतिदिन ६० हजार भन्दा बढी संक्रमित देखा पर्दै आइरहेका छन् । भारतमा कोरोनाको तीब्रता जसरी फैलिरहेको छ, यो नियन्त्रण भएन भने केही दिनमा नै संसारकै सबैभन्दा संक्रमित हुने देशको नाम भारत हुने निश्चित देखिन्छ ।
भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६० हजार नाघेको छ । त्यहाँ बुधबार मात्रै एक हजार १७ जनाको मृत्यु भएको छ । भारतमा कुल संक्रमितमध्ये १।८३ प्रतिशतको मृत्यु भएको तथ्यांकले देखाएको छ । भारतमा हालसम्म ७६।२८ प्रतिशत संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ५६ हजार १९१ जना निको भएका छन् ।