नयाँ दिल्ली । भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी ‘डिप कोमा’ मा रहेको उनको उपचार गरिरहेको भारतीय सैनिक अस्पतालले जनाएको छ ।
नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी गराएको हो ।
सो अस्पतालले पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरको सहायताले डिप कोमामा राखिएको जनाएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । उनलाई केही समय यही उपचार प्रविधिमा राखिने पनि सो अस्पतालले जानकारी दिएको बताइएको छ ।
सो अस्पतालमा गत अगष्ट १० मा उनको मष्तिष्कको शल्यक्रिया गरिएको जनाइएको थियो । पछि उनलाई कोरोना भाइरसको सङ्क्रमण भएको पनि समाचारमा जनाइएको थियो ।