रिपब्लीकन पार्टीको अधिवेशनको तयारी पूरा, राष्ट्रपति ट्रम्पलाई मनोनयन गर्ने

रिपब्लीकन पार्टीको अधिवेशनको तयारी पूरा, राष्ट्रपति ट्रम्पलाई मनोनयन गर्ने

चार्लोट्टे । अमेरिकी राष्ट्रपतिको आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको उम्मेदवारीलाई अनुमोदन गर्न रिपब्लीकन पार्टीको भेला उत्तरी क्यारोलिनको चार्लोट्टेमा सोमबार शुरु हुँदैछ । चार दिने यस भेलाले ट्रम्पको उम्मेदवारीलाई औपचारिकता दिनेछ । 

गत साता डेमोक्र्याटिक पार्टीको चार दिने भर्चुअल भेलाले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन गरिसकेको छ । बाइडेनले उपराष्ट्रपतिमा मनोनयन गर्नु भएकी कमला ह्यारिसलाई पनि सोही भेलाले अनुमोदन गरिसकेको छ । कोरोनाभाइरस महामारीका कारण चार्लोट्टे सम्मेलन केन्द्रको भेलाको आकार सानो बनाइएको रिपब्लीकन पार्टीले जनाएको छ ।  

रिपब्लीकन पार्टीको यो सम्मेलन राष्ट्रपति ट्रम्पका लागि विशेष महत्वको रहने छ, किनभने पछिल्लो पटक गरिएका राष्ट्रव्यापी र राज्यस्तरका चुनावी मतसर्वेक्षणले राष्ट्रपतिलाई बाइडेनको तुलनामा कमजोर स्थितिमा देखाएका छन् । 

विश्लेषकहरुका अनुसार राष्ट्रपति ट्रम्पका लागि आगामी चुनाव जनमतसंग्रह सरह हुनेछ । उनले यसअघि अघि सार्नु भएका कैयौं नीतिको कार्यान्वयन नभएको र कोरोनाभाइरसका सम्बन्धमा ठोस योजना अघि नसार्दा ठूलो संख्यामा मानिसको मृत्यु भएको, अर्थतन्त्र शिथिल बनेको तथा मानिसहरु बेरोजगार बनेको स्थिति छ । यसबाहेक देशभित्र कानुन व्यवस्थामा सुधार नहुँदा अश्वेत र सीमान्तकृत नागरिकहरुका ठुल्ठूला जुलुस देशव्यापी बनेका छन् । 

रिपब्लीकन पार्टीकी अध्यक्ष रोन्ना म्याकडानियलले देशभित्र विषम परिस्थिति रहे पनि रिपब्लीकनको चुनावी अभियान कुनै पनि स्थितिमा कमजोर नहुने बताए । राष्ट्रपति ट्रम्पले पनि पार्टीभित्रबाट आफ्ना विषयमा सकारात्मक धारणा प्राप्त हुने विश्वास व्यक्त गर्नु भएको छ । फक्स न्यूज च्यानललाई आइतबार दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले पार्टी सम्मेलनमा प्रतिनिधिहरुले आफूलाई पर्याप्त साथ, सहयोग र समर्थन गर्ने बताए । 

विगतमा दुबै दलले चुनावी वर्ष ठूलै सभा, समारोह र भेला गर्ने प्रचलन थियो । तर यसवर्ष कोरोनाभाइरसले सबै कृयाकलापलाई स्थिर तुल्याइदिएको छ । रिपब्लीकन पार्टीबाट एक्लो उम्मेदवार रहनु भएका ट्रम्पका लागि अमेरिकाका ५० राज्यबाट आमन्त्रित ३३६ प्रतिनिधि (डेलिगेट्स) ले मात्र मतदान गर्नेछन् । हुनतः रिपब्लीकन पार्टीका कूल प्रतिनिधि संख्या २ हजार ५०० भन्दा बढी छ । आमन्त्रित प्रतिनिधिका लागि ४२ पृष्ठको स्वास्थ्य तथा सुरक्षा निर्देशिका उपलब्ध गराइएको छ । 

चार्लोट्टेमा सम्मेलन शुरु भएपछि पार्टीका अन्य अधिकांश कृयाकलाप वासिङ्टन डिसीमा केन्द्रित हुनेछन् । प्रथम महिला मेलानिया ट्रम्पले रोज गार्डेनबाट मंगलबार सम्बोधन गर्नु हुनेछ । उपराष्ट्रपति माइक पेन्स बुधबार बाल्टिमोरस्थित फोर्ट म्याकहेन्रीबाट सम्बोधन गर्नेछन् । 

राष्ट्रपति ट्रम्पले वासिङ्टन डिसीको साउथ लनबाट बिहीबार सम्बोधन गर्नेछन् जहाँ उनका समर्थकहरु ठूलो संख्यामा उपस्थित हुनेछन् ।