कोमामा किम, बहिनीले सत्ता सम्हाल्दै

कोमामा किम, बहिनीले सत्ता सम्हाल्दै

काठमाडौं । उत्तर कोरियाली शासक किम जोङ उनको स्वास्थ्यबारे पुनः एकपटक चर्चा भइरहेको छ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति किम डे–जंगका अधिकारी भइसकेका पूर्व कूटनीतिक चाङ्ग सोङ्–मिनले किम जोङ उन कोमामा भएको दाबी गरेका छन् ।

केही समय अगाडि पनि किम जोङ उनको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी र दाबी गरिएको थियो तर उनी अचानक सबैको अगाडि स्वस्थ रुपमा देखापरे । अब दक्षिण कोरियाका पूर्व कूटनीतिज्ञद्वारा यस्तो दाबी गरिएपछि उनको स्वास्थ्यबारे पुनः चर्चा सुरु हुन थालेको हो ।

डेली मेलको एक रिपोर्ट अनुसार स्थानीय मिडियासँग कुराकानी गर्दै दक्षिण कोरियाका पूर्व कूटनीतिज्ञले किम जोङ उन कोमामा भएको तर उनको जीवन अन्त्य भने नभएको बताएका छन् । उनका अनुसार किमका ३३ वर्षीया बहिनी किम यो–जोङ दाइका केही शक्तिसहित सर्वोच्च पदमा रहेकी छिन् ।

‘अहिले नै एक पूर्ण उत्तराधिकार संरचनाको गठन नगरिएका कारण उनकी बहिनीलाई अगाडि सारिएको हो,’ उनले भने ।