नयाँ दिल्ली । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था ह्रासोन्मुख देखिएको भारतीय राजधानी नयाँ दिल्लीमा रहेको आर्मी रिसर्च एण्ड रिफरल हस्पिटलले जनाएको छ ।
भारतीय पूर्वराष्ट्रपति मुखर्जी केही समय अघि सो अस्पतालमा भर्ना भएका थिए । उनी अहिले पनि उपचाररत छन् ।
तर पछिल्ला केही दिनमा उनको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको उक्त सैनिक जनाएको छ ।
उक्त अस्पतालले दिएको जानकारीअनुसार बुधबार उनलाई फोक्सोमा सङ्क्रमण देखिएको छ ।
फोक्सोमा देखिएको सङ्क्रमणका कारण उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको सो अस्पतालले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाएको छ ।
उनलाई अहिले पनि भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । अवस्था झन् कमजोर हुँदै गएपछि उनलाई भेन्टिलेटरबाट झिक्ने अवस्था नरहेको पनि सो अस्पतालले जनाएको छ ।
उनलाई गएको अगष्ट १० मा सो अस्पतालमा भर्ना गरिएको थियो । त्यसलगत्तै उनको मष्तिष्कको शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियाको केही दिनपछि उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
त्यसपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको बताइएको छ । केही दिनमात्र अघि पनि सो अस्पतालले उनको स्वास्थ्य अवस्था कमजोर र स्थिर रहेको बताएको थियो ।
तर आज बिहान मात्र पनि पूर्वराष्ट्रपति मुखर्जीका छोरा अभिजित मुखर्जीले भने आफ्नो बुबाको स्वास्थ्य अवस्थामा सुधार आएको बताएका थिए ।
उनले ट्वीट गरेर आफ्नो बुबाको स्वास्थ्य अवस्थामा केही सुधार आएको भन्दै सो अस्पतालका चिकित्सकहरुलाई धन्यवाद दिएका थिए ।