इतिहास

नेपाली थिए ऐतिहासिक सम्राट् चन्द्रगुप्त मौर्य

नेपाली थिए ऐतिहासिक सम्राट् चन्द्रगुप्त मौर्य

कपिलबस्तु बृजी संघका राजा शुद्धोधनका छोरा गौतम बुद्धको जन्म रुपन्देही रुम्मिनी (लुम्बिनी) बगैंचामा भएको थियो । सिद्धार्थ जन्मेको ७ दिनमै आमा महामायाको मृत्यु भएकाले सौतेनी आमा प्रजापति गौतमीले स्याहारसुसार गरेर हुर्काएको हुनाले सिद्धार्थलाई गौतम बुद्ध भनिएको हो । सिद्धार्थले देवदह कोलिया गणको आफ्नै मामाकी छोरी यशोधरा (भद्रकपालिनी) लाई विवाह गरेका थिए । गौतम बुद्धको जन्म नेपालमा भए तापनि उनको कर्म क्षेत्र,धर्म क्षेत्र, बौद्धिक क्षेत्र र मृत्यु भारत रहेको छ । बौद्ध धर्मको नियमानुसार भिक्षा पात्रमा दानीले जे दिएता पनि खानु पर्ने हुन्छ । गौतम बुद्धलाई चुन्द लोहारले खानामा सुँगुरको मासु दिएको हुनाले अपच भै पखाला चलेर ८० जर्षको उमेरमा महापरिनिर्वाण हुँदा शाक्य संघले बुद्धको खरानी दाबी गरेर कपिलबस्तु ल्याएका थिए । भिक्षु अक्षघोषले पनि बुद्धलाई 'हे तुरग श्रेष्ठ' भनेका छन् । गौतम बुद्ध कुनै काल्पनिक पात्र नभएर इतिहास पुरुष हुन् ।

अयोध्या (भारत) का राजा दशरथपुत्र पुरुषोत्तम रामसँग विवाह भएको राजा जनकको छोरी सीता पनि जनकपुर (नेपाल) कै थिइन्, प्रथम सगरमाथा विजेता पर्वतारोही प्रशिक्षक तेनजिङ शेर्पा पनि नेपालकै थिए । त्यस्तै, भारतीय ऐतिहासिक सम्राट् चन्द्रगुप्त मौर्य पनि नेपालको (कपिलबस्तु पिप्पलीवन,पिपरहवा) का मौर्य वंशका सन्तान हुन् । भारतीय र विदेशी लेखकहरुले चन्द्रगुप्तलाई बुद्धजस्तै नेपाली नै भनी ठोकुवा नगरे तापनि विशाखदत्तले आफ्नो पुस्तक 'मुद्रा राक्षस मा चन्द्रगुप्त मौर्यलाई 'मौर्यपुत्र' भनेका छन् ।

भारतीय लेखक विश्वनाथ सत्यनारायणले 'चन्द्रगुप्तका स्वप्न' नामक पुस्तकको १५ अध्यायको पृष्ठ १४८ मा चन्द्रगुप्तलाई 'हामी किराती हौं' भनाएका छन् । २०६३ असोज ९ गतेको कान्तिपुर पत्रिकामा आत्माराम ओझाले 'भारतको पटनास्थित किताब महल पुस्तकालयमा रहेको बौद्धकालीन इतिहास अध्ययन गर्दा भारतीय इतिहास पुरुष चन्द्रगुप्त मौर्य मगर थिए' भनेका छन् ।

समय र ठाउँको नाम नभएसम्म इतिहासलाई इतिहास मानिँदैन । कालक्रमअनुसार इतिहास वास्तविक इतिहास हो । भारतीय सम्राट् चन्द्रगुप्तबारे इतिहास छर्लङ्ग देखिएको छ । कौटिल्यको अर्थशास्त्र, मुद्रा राक्षस, पुराणहरु, बौद्ध स्रोत, दीपवंश, महावंश, महावंश टीका, महाबोधी वंश, भद्रबाहु, लंका जय-महालेखक, कल्पसूत्र, परिशिष्टपर्वण, कथासरित सागर, जैन स्रोत, पाली ग्रन्थ र मनुस्मृतिको टीकाकार आदि पुस्तकहरुको गहन अध्ययन गरी विद्वान् अन्वेषक राधा कुमुद मुखर्जीको 'चन्द्र गुप्त मौर्य और उसका काल' नामक पुस्तकको सहयोग लिई यो लेख तयार गरिएको हो ।

कुलवंश भारतीय सम्राट् चन्द्रगुप्त मौर्यको सम्बन्धमा अनेक कथा प्रचलित छन् । 'चन्द्रगुप्त मौर्यको जन्म कुलघरानमा भएको थियो, उनी क्षत्रीय थिए', 'किरात कुलको भएको हुनाले उनको जन्म नीच कुलमा भएको थियो, उनी शुद्रको सन्तान थियो,' 'चन्द्रगुप्तको जन्म अज्ञात कुलमा भएको थियो', 'पाली स्रोत र युनानी लेखकले 'मौर्यको जन्म साधारण कुलमा भएको थियो' (पृष्ठ २९,३२) ।

पुराणहरुक एक टीकाकारले मौर्य शब्दको अर्थ मुरा पुत्र लगाएका छन् । मुरालाई राजा नन्दको भित्रिनी भनेका छन् तर पुराणले कतै पनि मुराको उल्लेख गरेको छैन । उनी नन्दवंशीय  भित्रिनीका पुत्र पनि होइनन् ।  बौद्ध र जैन स्मृति ग्रन्थहरुको अध्ययन गरेर पनि चन्द्रगुप्त मौर्यलाई नेपाली भन्नु पर्ने हुनाले बृजी वंशको ८ वटा संघलाई शोधककर्ताहरुले बेवास्ता गरेको देखिन्छ । आज भारतको तिरंगा झण्डामा चन्द्रगुप्त मौर्यको नातिको चिह्न 'अशोक चक्र' फर्फराइरहेको छ । भारतीय मुद्राहरुमा पनि अशोक चिह्न अंकित गरिएको छ । सम्राट् चन्द्रगुप्त मौर्यले भारतको पूर्वी समुन्द्रदेखि पश्चिमी समुन्द्रको किनारसम्म उत्तरदेखि दक्षिण सीमान्तसम्म मात्र होइन, इरानको सीमासम्म एकछत्र कब्जा गरेका थिए । नेपालको तराई क्षेत्रमा लिच्छविहरुको (बृजी ) ८ वटा महासंघ थियो । यी आठवटै राज्यको शासन व्यवस्था केन्द्रीय महासंघले सञ्चालन गर्दथ्यो । यसको केन्द्रीय राजधानी बैशाली थियो । यी ८ वटै महासंघ बौद्ध ग्रन्थ अनुसार निम्न लिखित थिए ।

१. कपिलबस्तु (शाक्यहरु जहाँ गौतम बुद्धको जन्म भयो) ।

२. समसुभारा पर्वत भाग ।

३. केशपुत्ताका कालामास ।

४. रामग्रामका कोलिया (नवलपरासी बुद्धको आमा महामायाको माइती) ।

५. कुशी नारा (गोरखपुर नजिक कुशीनगर पावाका मल्ल ) ।

६. पिप्कालिवान (कपिलबस्तु पिपरहवा) जहाँ चन्द्र गुप्त मौर्यको जन्म भएको थियो ।

७. मिथिलाको विदेह (सीता जन्मेको स्थान जनकपुर ) ।

८. बैशालीको लिच्छवि ।

कपिलबस्तुको शाक्य वंशमा गौतम बुद्धको जन्म भएको थियो भने पिप्कालिवान (पिपरहवा) को मौर्यवंशमा चन्द्रगुप्त मौर्यको जन्म भएको ऐतिहासिक तथ्यले साबित गर्दछ । भारतका विद्वान् शोधकर्ता राहुल सांस्कृत्यायनले पनि लेखेका छन् , 'यिनै बृजीहरुका सन्तानलाई पाट्ली पुत्रको महान सम्राट् बन्न लेखेको रहेछ ।'

उपर्युक्त पुस्तकमा बौद्ध र जैन साहित्यमा 'मौर्य जाति शाक्यहरुको कुल घरानको पवित्र एउटा शाखा हो, जुन कुलमा महात्मा बुद्धको जन्म भएको थियो ।' (पृ.२८) पिप्कालिवान (पिपरहवा) मा मयूरहरु प्रशस्त पाइने हुनाले यो वंशलाई मोरिय भनिएको हो । मोरिय शब्द मोरबाट बनेको हो । यो संस्कृतको मयूर शब्दको पालि पर्याय हो । महाबोधीवंश (सम्पादक स्ट्रांग) मा भनिएको छ, 'कुमार चन्द्रगुप्तको जन्म राजाको कुलमा भएको थियो । मोरियनगर शाक्यपुतोंले निर्वाण गरेका थिए । चाणक्यको सहयोगबाट चन्द्रगुप्त मौर्य पाट्ली पुत्र (मगध) को राजा भयो ।' (पृ-२८) दिधनिकाय ग्रन्थमा भनिएको छ, 'पप्लिवनमा बस्ने मोरिय क्षत्रीय वंशमा चन्द्रगुप्तको जन्म भएको थियो ।'

आफ्नो जन्मभूमि छाडेर जाने चन्द्रगुप्तका बुवा पिपरहवा गाउँका मुखिया थिए । सीमा क्षेत्रमा कल झगडा हुँदा उनी मारिएपछि आफ्नो दाजुभाइसहित चन्द्रगुप्तको आमासहित पाट्लीपुत्र पुगिन् । त्यहाँ चन्द्रगुप्तले गोठालाको काम गरेका थिए । ठूलो भएपछि उनको मालिकले एउटा शिकारीलाई बेचिदिएका थिए । त्यहाँ पनि चन्द्रगुप्तको काम गोठालाकै थियो । गोठालो गर्दा ८-९ वर्षको चन्द्रगुप्तले केटाकेटी बटुलेर 'राजकिलम' भन्ने खेल खेलाउँथे । यो खेलमा उनी राजा बन्थे भने साथीहरु उनका सेवक । उनी सभा राखेर न्यायको फैसला गर्ने गर्दथे ।

एक दिन राजा धननन्द (चन्द्रमय क्याम्ब्रिज हिस्ट्री अफ इण्डिया, पृ.४६९) द्वारा अपमानित चाणक्यले यो खेल देखेपछि प्रभावित भएर शिकारी मालिकसँग १००० कार्षापण (मुद्रा) तिरेर किनी तक्षशिला धापिठमा चन्द्रगुप्तलाई शिक्षाका लागि भर्ती गरिदिए । त्यहाँ धनुर्विद्या, राजनीतिक ज्ञान, शिकारी ज्ञान र सैनिक तालिमसम्म गराइन्थ्यो । ८ वर्षसम्म सम्पूर्ण विद्यामा ज्ञानआर्जन गरेपछि उनलाई चाणक्यले सैनिक नेता बनाएर भारतलाई युनानीहरुबाट स्वतन्त्रता र अन्यायी, अत्याचारी राजाहरुको नाश गर्ने काम सुम्पिएका थिए ।  चाणक्य र चन्द्रगुप्तले चोर डाँकु, पर्वतीय आदिवासी (किरात), वनबासी (आरबिक), लडाकु गण जाति, शक (हेरसोनियन), युनानी, कांबोज, खसहरुको सेना खडा गरेर विजय अभियान आरम्भ गरेका थिए ।

सिकन्दरले मई ३२७ ई.पू. देखि ३२३ ई.पू. सम्म २ वर्ष भारतमा आक्रमण गरी कैयौं साना-साना राज्य जितेका थिए । अम्बालाका राजा आम्भीको नियन्त्रणमा सिकन्दरले पुरु राज्यमा आक्रमण गरेका थिए भने यता चन्द्रगुप्तको उदय भैरहेको थियो । त्यतिबेलाका महान् सैनिक नेता सिकन्दरसँग चन्द्रगुप्त मौर्यको भेट हुँदा के कुरामा दुवैको भनाभन भयो र सिकन्दरले चन्द्रगुप्तलाई हत्या गर्ने आज्ञा समेत दिएका थिए । कुनै उपायले चन्द्रगुप्तले आफ्नो ज्यान जोगाएर भागेका थिए ।

ई.पू. ३२३ मा सिकन्दरको बेबिलोनमा मृत्यु भएपछि क्रान्तिका नेता चन्द्रगुप्तद्वारा 'सिकन्दरको मृत्युपछि उसले खटाएका छत्रपतिहरु युमेनिज, पेइथन, फिलिप, निकानोर चन्द्रगुप्त मौर्यको स्वतन्त्रताका सेनाहरुद्वारा मारिए । इ.पू.३२२ मा चन्द्रगुप्त मौर्यको शुभ राज्याभिषेक गरियो । नौ नन्दहरु जसले पाट्लीपुत्र (मगध) मा राज्य गर्दथे । जेठा उग्रसेन नन्द थिए भने अन्तिम कान्छा राजा धननन्द (चन्द्रमस) जसले चाणक्यको अपमान गरेका थिए । उनलाई मारेर चन्द्रगुप्तले पाट्लीपुत्र राज्य हत्याएका थिए । नन्दवंशी ९ भाइ पनि पहिला डाँकाहरु थिए । आम जनता नन्दवंशी राजाहरुलाई मन पराउँदैनथे । चन्द्रगुप्त मौर्यको सेल्युकससँग सम्झौता भै दुवैले एकआपसमा उपहार आदानप्रदान गरेका थिए र मौर्यले सेल्युकसको छोरी पनि विवाह गरेका थिए ।

१७-१८ वर्षदेखि लड्दा लड्दा चन्द्रगुप्त मौर्य विरक्त भैसकेकाले ५० वर्ष अगावै जैन धर्म स्वीकार गरी २९८ ई.पू. मा युवराज विंविसारलाई राज्य सुम्पिई आफ्नो गुरु भद्रबाहुसमेत श्रवण भद्रगोला भन्ने ठाउँमा गई गुरुको सेवा गर्दागर्दै गुरुको मृत्यु भएको हुनाले उनी आफैले पनि अन्नपानी खान छोडेर ई.पू.२९९ मा प्राण त्याग गरे । उनको छोरा विंविसारपछि नाति अशोक मौर्य राजा भए । अशोकले कलिङ्ग युद्धको विभीषिका सहन नसकी बौद्ध धर्म ग्रहण गरी सारा एसियामा बौद्ध धर्मको प्रचारप्रसार गरे र जताततै अशोक स्तम्भ ठड्याए ।

राजा अशोकले ठड्याएको अशोक स्तम्भको टुप्पामा बाघको मुख हुने गरेको छ भने अशोकको राष्ट्रिय झन्डामा पनि बाघको मुख अंकित थियो । किरातीहरु आफूलाई बाघझैं बलियो ठान्दछन् । अशोक उज्जैनमा उपराजा हुँदा मामाकी छोरी महादेवी शाक्य कुमारीलाई विवाह गरेका थिए । उनको पटरानीको नाम असंधिमित्रा थियो । मनुस्मृतिको टीकाकारले राजाहरुको सुरक्षाका लागि 'मामाकी छोरी विवाह गर्ने चलन थियो' भनेका छन् (पृ.७१) । राजा अशोकले बुद्ध र बाजे चन्द्रगुप्तको जन्मस्थल लुम्बिनी र पिप्कालिनीमा १ भाग मात्र कर लगाई अरु कर माफ गरी सो ठाउँलाई 'उबलिके' तथा 'अठभागिए' घोषणा गरेका थिए ।

बुद्ध जन्मस्थल लुम्बिनीमा अशोक स्तम्भ गाडेकोमा स्तम्भको टुप्पाको बाघको चिह्न भुइँमा खसेको छ । साथै बाजेको जन्मस्थल पिपरहवामा श्रद्धाले दुइटा अशोक स्तम्भ गाडेकोमा एउटा स्तम्भ खडा छ, एउटा ढलेको छ । सम्राट् चन्द्रगुप्त मौर्यले २४ वर्षका छोरा विंविसारले २५ वर्ष भारतमा राज्य गरेका थिए भने सम्राट् अशोक मौर्यको २६९ इ.पू. मा शुभ राज्याभिषेक भएको थियो ।