अमेरिकी क्षेत्रको एनआरएनए ज्ञान भेला हुँदै

अमेरिकी क्षेत्रको एनआरएनए ज्ञान भेला हुँदै

अमेरिका । अमेरिकी क्षेत्रका लागि एनआरएनए क्षेत्रीय भेला सेप्टेम्बर ५ र ६ का लागि तोकिएको छ। उक्त क्षेत्रीय भेलामा एकदिने ज्ञान भेला सञ्चालन गर्न हालै डा लक्ष्मी पाठकको संयोजकत्वमा डा आमोद पोख्रेल र वैज्ञानिक नारायण घिमिरे सम्मिलित विज्ञ समूह गठन भएको छ। 

एनआरएनए अमेरिकी क्षेत्रको क्षेत्रीय सम्मेलन मूल आयोजन समिति अन्तर्गत गठित स्वतन्त्र विज्ञको रूपमा काम गर्ने विज्ञ समितिले सम्मेलनका लागि आठ क्षेत्र निर्धारण गरी हरेक क्षेत्रका विषय विज्ञहरूलाई सम्बन्धित विषयको ज्ञान गोष्ठीको सभापति समेत तोकेको छ।

अमेरिकी क्षेत्रको लागि गठित एनआरएनए विज्ञ समूह वा थिङ्क ट्यांक ग्रुपको बैठकले ज्ञान सम्मेलनमा आफ्नो कार्यपत्र प्रस्तुत गर्न चाहने नर्थ अमेरिकी क्षेत्रका (अमेरिका, क्यानडा, मेक्सिको आदि) २३ मुलुकमा बसोबास गर्ने नेपाली मूलका नेपाली विज्ञ ड़ाएस्पोराहरुबाट अगस्ट २० भित्र आफ्नो कार्यपत्रको सारांश अथवा एब्सट्रयाक्ट तोकिएको ढाँचामा इमेल मार्फत पठाउन आह्वान गरिएको छ। 

एनआरएनएको अमेरिकी विज्ञ समूहले पेस गरिएका कार्यपत्रमा प्रत्येक सत्रमा चार ओटा कार्यपत्र समावेश गर्ने समय उपलब्ध गराइएको छ। सबै कार्यपत्रलाई अगस्ट २५ भित्र सत्रमा प्रस्तुतिका लागि स्वीकृत भएको हो वा नेपाल सरकार र नेपालको योजना आयोगमा प्रस्तुत गर्न तैयारी गर्न लागिएको कन्फरेन्स डिक्लरेसन र व्हाइट पेपरमा संलग्न गर्नको लागि छनौटमा परेको हो भन्नेबारे जानकारी गराइने भएको छ।  
           
एनआरएनए अमेरिकी विज्ञ समूहको बैठकले ज्ञान आदान प्रदान गोष्ठी जुम प्रविधि प्रयोग गरि एकसाथ तीन वटा समानान्तर सेसनमार्फत अनलाइनमा गर्ने, जसमा एक कार्यपत्र क्यानडा, एक अमेरिका र एक अमेरिकी क्षेत्र तथा अर्को नेपालबाट समावेश गरिनेछ। 

एनआरएनए क्षेत्रीय संयोजन समितिले तोकेको विज्ञ समूहको औपचारिक निर्णय अनुसार अनुसार पहिलो सेसन अन्तर्गत कोभिड-१९ र यसले अर्थतन्त्रमा पर्ने असरु शीर्षक अन्तर्गत कानुनविद् दिल्ली भट्ट, अमेरिकास पब्लिक हेल्थ एन्ड मेडिसिनमा डाक्टर श्याम थापा, अमेरिकास र नलेज एन्ड स्किल इन नर्सिङ प्राक्टिसमा नर्स पार्वती पाण्डे, क्यानडा तोकिएका छन्। 

दोस्रो समानान्तर सेसनमा इञ्जिनियरिङ, पूर्वाधार विकास र सार्वजनिक सुरक्षामा इन्जिनियर केदार श्रेष्ठ, इनर्जी, वातावरण, विज्ञान तथा प्रविधिमा वातावरण पत्रकार सहज मान श्रेष्ठ, अमेरिका र शिक्षा, सामाजिक सुदृढीकरण र न्यायिक विकासमा डाक्टर हरि गुरुङ, क्यानडाले सेसनको अध्यक्षता गर्नेछन्।

तेस्रो समानान्तर सेसनमा कृषि, बन तथा एलाइड सेक्टरमा डा कृष्णहरि गौतम, क्यानडा र इनोभेसन, उध्यमशीलता र टेक्नोलोजी सेयारिङमा डा मनोज कार्की, अमेरिका सेसनका अध्यक्ष छन्। समग्रमा अमेरिकी क्षेत्रको लागि एनआरएनए क्षेत्रीय ज्ञान भेलाको लागि अमेरिका र क्यानडाका ज्ञान भेलाका आठ अध्यक्ष र तीन भेला सहजीकरण विज्ञ गरी ११ सदस्यीय अमेरिकी क्षेत्र विज्ञ समूह गठन भएको छ। एनआरएनए क्यानडा मुख्य होष्ट रहेको सेप्टेम्बर ५ र ६ को कार्यक्रममा ज्ञान सम्मेलनका लागि भने सेप्टेम्बर- ६ लाई तोकिएको छ।