५५ वर्षभन्दा माथिकालाई १८ टिप्स

५५ वर्षभन्दा माथिकालाई १८ टिप्स

 (१) ५५ वर्षदेखि मृत्युसम्म ... यो त्यस्तो समय हो जुन बेला तिमीले कमाएर राखेको पैसा खर्च गर्नु पर्छ। पैसा खर्च गर र जीवनको आनन्द उठाऊ । आफूले कमाएको पैसा अरू कसैको लागि भनी साँचेर नराख, त्यो पैसा कमाउन तिमीले कति दुःख, परिश्रम र त्याग गरेका छौ भनेर अरूले बुझ्न सक्दैनन् । याद राख्नू तिम्रा छोरा छोरीहरू र नजिकका आफन्तहरू तिमीले दुःख गरेर कमाएको पैसा प्रयोग गर्ने आकर्षक विचार र योजनाहरू लिएर आउन सक्छन् । यो घातक हुन सक्छ ।  

(२) चेतावनी ... यो कतै कुनै लगानी गर्ने उपयुक्त समय पनि हैन । जतिसुकै राम्रो र नाफामूलक जस्तो देखिए पनि पछि गएर यसले समस्या र चिन्ता निम्त्याउन सक्छ । लगानी गर्नु नै छ भने ज्यादै विचार र होस पुर्याएर सुरक्षित र न्यून जोखिम हुने ठाउँमा गर्नु पर्छ । यो बेला भनेको अलिकति शान्तिसँग, तनाव रहित जीवन बिताउने समय हो ।  

(३) आफ्ना छोरा नातिहरूको आर्थिक अवस्था बारे चिन्ता गर्न छाडिदेऊ र आफुले कमाएको पैसा आफ्नो लागि खर्च गर्न नहिचकिचाऊ । तिमीले धेरै वर्षसम्म उनीहरूको राम्रोसँग हेरविचार गरिसकेका छौ । तिमीले उनीहरूलाई राम्रो शिक्षा दिएका छौ र आफ्नो खुट्टामा उभिन पुरापुर प्रयास र योगदान गरेका छौ । अब आफ्नो लागि कमाउने पालो र जिम्मेवारी उनीहरूको आफ्नै हो।  

(४) ठूलो मेहनत कष्ट नगरी आफ्नो शरीरलाई स्वस्थ्य राख्ने प्रयास गर्नु पर्दछ। हल्का व्यायामहरू गर्ने, सधैं हिंड्ने, सुपाच्य स्वस्थकर खाना खाने, यथेष्ट मात्रामा निदाउने गर्नु पर्दछ । योग ध्यान गर्ने गरेमा मनमा शान्ति मिल्छ र आध्यात्मिक चिन्तनतर्फ ध्यान जान्छ। यो बेला शरीरलाई स्वस्थ्य राख्न गाह्रो हुन्छ र सजिलै बिरामी पर्न सकिन्छ। त्यसैले आफ्नो शारीरिक र मेडिकल आवश्यकतालाई ध्यानमा राखी बेला बेलामा डाक्टर जँचाउने र टेष्टहरू गराउने गर्नु पर्दछ । आफ्ना मेडिकल रेकर्डहरू हिफाजतका साथ राख्नु पर्दछ।  

(५) आफ्नो जीवनसाथीको लागि सधैं सबैभन्दा राम्रा चिज उपहार किन्ने गर । मुख्य कुरा तिमीले कमाएको पैसाबाट आफ्नो जीवनसाथीसँग मिलेर आनन्द उठाउने हो । कुनै दिन यस्तो आउने छ जब एक अर्कालाई गुमाउनु पर्नेछ । त्यो बेला पैसाले मनमा कुनै आराम वा सान्त्वना दिने छैन। त्यसैले दुबै मिलेर आनन्दको लाभ उठाउनु पर्दछ।  

(६) सानो तिनो कुरामा चिन्ता लिने बानी गर्नु हुँदैन। तिमीले जिन्दगीमा धेरै झेलिसकेका छौ। तिमीसँग राम्रा नराम्रा दुवै अनुभवहरू छन् । तर महत्वपूर्ण भनेको तिम्रो वर्तमान हो । विगतका कुराबाट थिचिनु हुँदैन र भविष्यसँग डराउनु हुँदैन। अहिलेमा रमाउन सिक्नु पर्दछ। सानातिना समस्या आफै ठीक भएर जानेछन्।  

(७) उमेर जतिसुकै भएपनि माया प्रेमलाई जीवन्त राख्न सक्नु पर्दछ । आफ्नो जीवनको माया गर, जीवनसाथीलाई माया गर, परिवारलाई माया गर, छिमेकीलाई माया गर। याद राख- मानिसमा बुद्धि विवेक, माया, स्नेह र सद्भाव रहुन्जेलसम्म ऊ बुढो या बुढी हुँदैन ।  

(८) आफूप्रति गर्व गर। भित्र बाहिर दुवैतिर आफूलाई चुस्त दुरूस्त राख। आफूलाई मन पर्ने स्टाईलमा कपाल बनाऊ, आफ्नो छाला र दाँतहरूको राम्रो हेरचाह गर । मन पर्ने परफ्यूम क्रीम लोसनहरू किनेर राख र प्रयोग गर । यसबाट तिम्रो व्यक्तित्व राम्रो बनाई राख्न मद्दत पुग्ने छ ।  

(९) फेसन ट्रेण्ड कस्तो छ भन्ने कुरालाई ध्यानमा राख्दै आफ्नो उमेर अनुसार आफूलाई सुहाउँदो फेसन गर्न पछि पर्नु हुँदैन। बुढो या बुढी भएँ भनेर झुत्रे झाम्रे भई बस्नु जरूरी छैन। राम्रो ड्रेसअपले व्यक्तित्वमा निखार ल्याउँछ ।  

(१०) आफूलाई अप टू डेट राख। अखबार पढ्ने गर | टिभिमा समाचार हेर । अनलाइन जाऊ, मानिसहरूको बिचार बुझ । आफ्नो इमेल एकाउन्टलाई सक्रिय राख - सामाजिक सञ्जालमा पुराना मित्रहरू भेटिन सक्छन् ।    पुराना दिनहरूको यादले मनलाई रमाईलो बनाउन मद्दत गर्ने छ।

(११) युवा पुस्ता र उनीहरूको विचारलाई सम्मान गर्न सिक । उनीहरूको सोचाइ तिम्रोभन्दा फरक हुन सक्छ र युवा पुस्ता नै देशका भविष्य हुन् भन्ने कुरा बुझ्न सक्नु पर्छ।    उनीहरूलाई सुझाव दिन सकिन्छ तर आलोचना गर्नु हुँदैन । “मेरो पालामा त.. " भन्ने कुरा गर्नु हुँदैन किनभने तिम्रो पालो त गैसक्यो । तिमी बाँचुञ्जेल तिमी अहिलेको समयको हिस्सा हौ ।

(१२) कोही व्यक्तिहरू बितेका राम्रा दिनहरू सम्झेर खुशी हुन्छन् भने कोही नराम्रा कुरा सोचेर तिक्तता पोखिरहेका हुन्छन् । जीवन छोटो छ, तिक्तता पोख्दै समय फाल्नु बुद्धिमानी हुँदैन ।  सकारात्मक सोच राख्ने र रमाइलो गर्ने मानिसहरूको सङ्गत गर्यौ भने जीवनमा सहजता आउन सक्छ।

(१३) यदि तिमी आर्थिक रूपमा सक्षम छौ भने छोरा छोरी नाती नातिनीहरूसँग सँगै बस्ने मोह नराख।    परिवारसँग घेरिएर बस्नु राम्रो लाग्न सक्छ तर हामी सबैलाई आफ्नो एकान्त अर्थात् निजी जिन्दगी चाहिन्छ । तिमीलाई तिम्रो निजी जिन्दगी चाहिन्छ भने उनीहरूलाई आफ्नो । परिवारविना बस्नै नसक्ने अवस्थामा मात्र त्यो विकल्प हुन सक्छ ।

(१४) आफ्ना सोख लाई परित्याग नगर । छैनन् भनेपनि नयाँ सोख बनाउन सकिन्छ । आफ्नो जीवनसाथीलाई लिएर घुम्न जान सकिन्छ, साथीभाइसँग हाइकिङ जान सकिन्छ, कुकिङ, डान्सिङ, चेस खेल्ने आदि गर्न सकिन्छ ।  कुकुर पाल्न, सानो किचन गार्डेन बनाउन सकिन्छ । लेख्न पढ्न सकिन्छ | यसबाट आफूलाई शारीरिक र मानसिक रूपमा सक्रिय राख्न मद्दत मिल्छ।

(१५) बेला बेलामा घरबाट बाहिर निस्क । धेरै समयदेखि भेट हुन नसकेका आफन्त साथीभाईहरूलाई भेट । नयाँ कुराहरूको अनुभव गर। म्यूजियम जाऊ, पेन्टिङ एग्जिविसन जाऊ, म्यूजिक कन्सर्ट जाऊ । हलमा गएर फिल्म हेर | यसले तिमीलाई ताजगी प्रदान गर्ने छ ।  

(१६) उमेर बढ्दै जाँदा शारीरिक पीडा, तकलिफ, असुविधाहरूले मितेरी गाँस्न थाल्छन्। यसबारे धेरै चिन्ता गरिराख्नुभन्दा यसलाई जीवनको अङ्ग ठानेर अघि बढनु पर्दछ।

(१७) कसैले नराम्रो भन्यो, चित्त दुखायो भने उसलाई माफ गरिदेऊ । तिमीबाट पनि कसैको चित्त दुखाउने काम भएको छ भने क्षमा माग । कसले के गर्यो र कसले के भन्यो भन्ने कुरामा अलमलिन थाल्यो भने त्यसले आफैलाई निराश र दुखी बनाउने मात्र काम गर्छ ।   त्यसकारण "माफ गर, बिर्स र अघि बढ" को सिद्धान्त अपनाउनु पर्छ ।

(१८)  हाँस। खुब हाँस । आफ्नो चिन्ता बिर्सेर हाँस । याद राख, तिमी भाग्यमानी छौ । तिमीले यो जीवन भोग्न पाएका छौ, लामो जीवन। सबैले जीवनको आनन्द उठाउने सौभाग्य पाएको हुँदैन । उमेरको यो क्षणमा आईपुग्दा शान्तिपूर्वक जीवनको आनन्द उठाउनु होला। चिन्ता त्यागौं, खुशी रहौं ।