काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । उत्तर प्रदेश प्रहरीले दुवेको ज्यान गएको पुष्टि गरेको छ ।
उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले उज्जैनबाट सडकमार्ग हुँदै कानपुर लगिरहेका बेला गाडी दुर्घटना भएको प्रहरीको दाबी छ । बिहान कानपुर लैजादै गर्दा गाडी पल्टिएको र दुवेले प्रहरीको हतियार खोसेर आक्रमणको प्रयास गरेपछि कारबाहीमा मारिएको भारतीय प्रहरीले जनाएको छ ।
दुवेको छाती र कम्मरमा गोली लागेको छ । उनी बिहीबार उज्जैनको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । प्रहरीका अनुसार गाडी दुर्घटनामा केही प्रहरी पनि घाइते भएका छन् ।
भारतको कानपुरमा अघिल्लो हप्ता दुवेलाई पक्राउ गर्न गएको बेला हतियारधारी समूहसँगको मुठभेडमा एक डिएसपी सहित ८ जनाको ज्यान गएको थियो ।