अमेरिकाले औपचारिक रुपमै तोड्यो विश्व स्वास्थ्य संगठनसंगको सम्बन्ध

अमेरिकाले औपचारिक रुपमै तोड्यो विश्व स्वास्थ्य संगठनसंगको सम्बन्ध

एजेन्सी । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग औपचारिक रूपमै सम्बन्ध तोडेको छ।

कोरोना महामारी नियन्त्रण गर्न नसकेको तथा चीनसँग मिलेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओसँग नाता तोड्ने तथा उसलाई दिने अनुदान अन्य क्षेत्रमा लगाउने यसअघि नै घोषणा गरेका थिए।

डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानम गेब्रियससले संस्थालाई सबैभन्दा बढी अमेरिकाकै मद्दतको जरुरी रहेको बताउँदै त्यसो नगर्न अनुरोध गरेका थिए। अन्तर्राष्ट्रिय समुदाय तथा स्वयं अमेरिकाका कतिपय बुद्धिजीवीले पनि यस्तो निर्णय घातक हुने चेतावनी दिएका थिए।

तर ट्रम्पले आफ्नो निर्णय परिवर्तन गरेनन्। र, अन्ततः डब्लूएचओसँग अलग हुने जानकारीसहित औपचारिक पत्र नै पठाएका हुन्।

अमेरिकाले यही जुलाई ६ मा त्यस्तो पत्र डब्लूएचओलाई पठाएको कुरा संयुक्त राष्ट्र संघले पुष्टि गरेको छ।