नेपालमा कतिवटा जिल्ला छन् भन्ने ज्ञान नहुने हिरोइन देखेर लाज लाग्योः अभिनेत्री सुष्मा कार्की

नेपालमा कतिवटा जिल्ला छन् भन्ने ज्ञान नहुने हिरोइन देखेर लाज लाग्योः अभिनेत्री सुष्मा कार्की

काठमाडौं । नेपालमा कतिवटा जिल्ला र प्रदेश छन् भन्ने प्रश्नको जवाफ दिन नसकेर अभिनेत्री पूजा शर्मा सर्वत्र आलोचित हुन पुगेकी छिन् । उनले एक अन्तर्वार्तामा नेपालको जिल्लाको संख्याबारे दिएको गलत जवाफको भिडियो क्लिप केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । पूजाले तीन महिनाअघि प्राइभ टिभीमा दिएको अन्तर्वार्तामा नेपालमा १४ जिल्ला रहेको बताएकी थिइन् । यो अन्तर्वार्ता यूट्युबबाट हटाइए पनि उनले नेपालको जिल्लाबारे दिएको जवाफको भिडियो अहिले सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती भएको छ ।

अभिनेत्री पूजा शर्माले नेपालमा १४ वटा जिल्ला रहेको भन्दै जवाफ फर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी ट्रोलको शिकार भएकी छन् । नेपालमा जन्मिएर नेपालमा कति जिल्ला छन् भन्ने ज्ञान नहुने अभिनेत्रीले आफूलाई नेपाली भन्न नसुहाउने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको आलोचना पनि गरिरहेका छन् । यद्यपि, यस विषयमा पूजा मौन छिन् ।

यसबीच, अभिनेत्री सुष्मा कार्कीले पूजाको कटाक्ष गरेकी छन् । उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘नेपालमा कतिवटा जिल्ला र प्रदेश छन् भन्ने ज्ञान नहुने नेपालका हिरोइन देखेर लाज लाग्यो । छिःछिः ।’ उनले पूजाप्रति प्रहार गरेको यो पहिलो पटक भने होइन । उनीहरुबीच वर्षौंदेखि पानी बाराबारको सम्बन्ध छ । यसकारण पनि पूजा सुष्माको निशानामा परिरहेकी हुन्छिन् ।

पूजाको हरेक एक कमी-कमजोरी औंल्याएर बस्ने गरेकी सुष्माले एकपटक फेरि उनको कटाक्ष गर्ने मौका पाएकी छन् ।