काठमाडौं । सर्वोच्च अदालतले अदालतबाट भएका आदेश कार्यान्वयन नगरेकोबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ पेस गर्न आदेश गरेको छ । अदालतले आफैँ वा आफ्ना कानुनी प्रतिनिधिमार्फत जवाफ पेस गर्न आदेश गरेको हो ।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले प्रधानमन्त्री वा प्रतिनिधिमार्फत जवाफ मागेको हो ।
वैशाख ५ गते निवेदक प्रकाशमणि शर्मा भएको रिटमा भएका आदेशहरु कार्यान्वयन नभएको भन्दै शर्माले अपहेलना मुद्दा दायर गरेका थिए । सो मुद्दामा सुनुवाइ गर्दै प्रधानमन्त्रीसँग जवाफ माग भएको हो ।
अदालतको अपहेलना मुद्दामा दोषी ठहर भएमा एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।