आजकाे माैसमः भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाकाे आग्रह

आजकाे माैसमः भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाकाे आग्रह

काठमाडौँ । मनसुनी गतिविधि देशभर नै सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वबाट जुन १२ मा प्रवेश गरेको मनसुन अब सुदूरपश्चिमसम्म पनि पुगेको मौसमविद मिनकुमार अर्यालले बताएका छन् ।

उनले भने, ‘सुदूरपश्चिममा पश्चिमी वायुको केही प्रभाव थियो । तर आइतबार बेलुकादेखि पश्चिमी वायुलाई पूर्वी मनसुनी वायुले धकेलेको छ र सो क्षेत्रमा पनि मनसुन प्रवेश गरेको छ ।’ यसको अर्थ देशभर मनसुन सक्रिय भइहेको भन्ने हो ।

देशभर नै मनसुनी झरी परिरहेको छ । हाल अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै क्षेत्रमा पानी परिरहेको मौसमविद अर्यालले बताए । देशका धेरै स्थानमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।

सोमबार दिनभर पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले जानकारी दिए ।