अश्रुपूरित बिदाइ सुशान्त !

अश्रुपूरित बिदाइ सुशान्त !

काठमाडाैं । हिन्दी टेलिफिल्म तथा चलचित्र जगतका लोकप्रिय र प्रतिभावान् कलाकार सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । मात्र ३४ वर्षको युवा वयमै स्वैच्छाले मृत्युवरण गरेर यी सम्वेदनशील कलाकारले भारत मात्र होइन दक्षिण एसिया क्षेत्रका आफ्ना करोडौँ प्रशंसकहरूलाई स्तब्ध बनाइदिएका छन् । उनको यस्तो अनपेक्षित अन्त्य सार्‍है नै खेदजनक छ । 

हाम्रो विराटनगर पारी पूर्णियामा जन्मेका सुशान्तको पढाइ इन्जिनियर बन्नेतर्फ केन्द्रित थियो । उनले इन्जिनियरिङको उच्च शिक्षाका लागि १६ वटा कलेजको प्रवेश परीक्षा उत्तीर्ण गरेपनि भर्ना भने माइनिङ इन्जिनियरिङ कोर्सका लागि भएका थिए । तर विधिको विधान उनले त्यसै बीच श्यामक डाबरको नृत्यकक्षामा पनि दाखिला लिए जसले उनको जीवनको दिशा नै फेरिदियो । तीन वर्ष नबित्दै उनले कलेज छोडिदिए र आफ्ना नृत्यगुरु श्यामक डाबरको नृत्य(मण्डलीमा सामेल भई व्यावसायिक कलाकारको जीवन-यात्रा शुरू गरे । सुशान्त छिट्टै नै टोलीका लिड नर्तक भए । त्यस बीचमा नृत्यमा आधारित 'झलक दिखला जा' जस्ता टेलिशृंखलाहरूमा पनि भाग लिए र दर्शकहरूको प्रशंसा बटुल्न सफल भए । 

उनको प्रतिभाको वास्तविक पहिचान भने नृत्यबाट अभिनयको क्षेत्रमा सरेपछि हुन थाल्यो । बालाजी टेलिफिल्मकी प्रमुख एकता कपूरले उनलाई 'किस देश में रहता है मेरा दिल' र 'पवित्र रिस्ता' नामक सिरियलमा नायकको मुख्य भूमिकामा खेलाइन् । दुई मध्ये पवित्र रिस्ताको नायक मानव देशमुखको भूमिकामा उनले गरेको सन्तुलित, भावपूर्ण अभिनयले उनलाई सानो पर्दाको सबैभन्दा लोकप्रिय कलाकार बनाइदियो । सोही सिरियलकी नायिका अंकिता लोखण्डे र उनको जोडी आफ्नो समयमा सम्भवतस् विशाल दर्शक समूहको सबैभन्दा प्रिय जोडी मानिन्थ्यो । 

फिल्म अभिनयमा उनको यात्रा 'काइ पो चे'बाट शुरू भएको हो । त्यसपछि उनले अभिनय गरेका उल्लेख्य फिल्महरूमा 'शुद्ध देशी रोमान्स' 'पीके' 'व्योमकेश बक्सी', 'एम एस् धोनी: अन्टोल्ड स्टोरी' , 'केदारनाथ' र 'छिछोरे'आदि छन् । यी फिल्महरू र टेलिशृंखलाहरूमा खेल्दा उनले देखाएको कुशल अभिनयले आज सुशान्त बी-टाउनमा उपलब्ध प्रतिभाशाली युवा कलाकारहरूमध्ये प्रमुख अनुहार बन्न सफल भएका थिए । उनी नयाँ पुस्ताका त्यस्ता कलाकारहरूमध्ये पनि एक थिए जसले जे जति उपलब्धि र ख्याति आर्जन गरेको थियो त्यो फगत आफ्नै लगन, परिश्रम र अभिनय क्षमताका बलबुतामा गरेको थियो । 

भनिंदैछ, सुशान्त विगत केही समयदेखि अवसादग्रस्त मनस्थितिमा थिए । आजकल उनीसँग खासै काम पनि केही थिएन, त्यसमाथि लकडाउनको दवाब । टेलिभिजनका लागि काम गर्दाताका ६ वर्षसम्म लिभ् इन् रिलेसनमा रहेकी पवित्र रिस्ताकी नायिका अंकिता लोखण्डेसँग भएको ब्रेक अप् ले पनि उनको मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव छोडेको हुँदो हो । यी कुराहरूको समग्र दवाबले हुनसक्छ सुशान्त जीवनको नाजुक डोरी छिनाइदिने भयानक निर्णय लिन पुगे । विज्ञहरू भन्दछन:  डिप्रेसनको शिकार भएको व्यक्ति एक्लो छ भने उसले आत्महत्या गर्ने जोखिम धेरै हुन्छ ।