गफ हानेको होइन, अब मुलुक बन्छ: प्रधानमन्त्री

गफ हानेको होइन, अब मुलुक बन्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा फेरि आन्दोलन जरुरी नभएको बताएका छन् । सुशासन र स्वच्छता कायम गर्ने भन्दै उनले ढुक्क रहन आग्रह समेत गरेका छन् । 

आइतबारदेखि बैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक विग्रँदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको देशको सरकार कर्तव्यबाट चुक्दैछ कि ? आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलकमा दोहोरिने हो कि ? कतिपय जिज्ञासु युवाहरुको प्रश्न आफूले सुनेको बताए । 

उनले अघि भनेका छन्, ‘म एकमुष्ट भन्न चाहन्छु, जति लड्ने हो यो पुस्ता लड्छ । मुलक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरु यस मुलकको भाग्यमानी पुस्ता बन्छ भन्ने तपाईँका अभिभावकहरुको भनाइ झुटा सवित हुँदैन ।’ मुलुकमा अब फेरि अर्को आन्दोलन आवश्यक नभएको प्रधानमन्त्री ओलीले बताए । 

अप्ठ्यारोमा दुविधा हुने र त्यसलाई दुर गर्न नेतृत्व चाहिने भन्दै उनले भनेका छन्, ‘आरोप लगाए जस्तो गफ हानेको होइन । ढुक्क रहुँ मुलुक बन्छ । सुशासन, स्वच्छता कायम हुन्छ ।’

कोरोना महामारीका कारण अवरुद्ध  शिक्षण प्रणालीलाई निरन्तरता दिन सरकारले अनलाइन, रेडियो, टेलिभिजन र र अन्य माध्यमबाट पठनपाठनको व्यवस्था गरेको छ । प्रधानमन्त्री ओलीले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरणका लागि निर्देशिका जारी गर्दा स्थानीय तह तथा विद्यालयको स्रोत साधनमा रहेको पहुँचलाईसमेत ध्यान दिइएको बताए । सरकारले आजदेखि सबै विद्यालयमा वैकल्पिक माध्यमबाट पढाइ शुरु गराएको छ । प्रधानमन्त्री ओलीले लामो समयसम्म विद्यालय बन्द रहँदा समग्र शैक्षिक सत्र प्रभावित हुने भएकाले बन्दाबन्दीको अवधिमै सूचना प्रविधिका माध्यमबाट पठनपाठनको शुरुआत गरिएसँगै अवको पुस्ता प्रविधिमा अभ्यस्त हुनेमा विश्वास व्यक्त गरे ।