भारतमा थपिए अहिलेसम्मकै धेरै संक्रमित, नौ हजारभन्दा बढीको मृत्यु

भारतमा थपिए अहिलेसम्मकै धेरै संक्रमित, नौ हजारभन्दा बढीको मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारीबाट संक्रमितहरुको संख्या हरेक दिन बढ्दै गइरहेको छ । दैनिक संक्रमितको संख्या अघिल्लो दिनभन्दा पछिल्लो दिन बढी देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । 

पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ११ हजार ९२९ जना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो तथ्यांक पनि दैनिक सङ्क्रमितहरुको संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीहरुको भनाई छ । 

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन लाख २० हजार ९२२ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ३११ जनाको कोरोना भाइरसबाट संक्रमित भएकै कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या नौ हजार १९५ पुगेको छ । 

देशभरी कुल संक्रमितमध्ये एक लाख ४९ हजार ३४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु एक लाख ६२ हजार ३७९ जना सङ्क्रमण मुक्त भएका छन् । 

सबैभन्दा धेरै सङ्क्रमित रहेको महाराष्ट्र प्रदेशमा मात्रै एक लाख चार हजार ५६८ जना संक्रमित भएका छन् । त्यसैगरी दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा ४२ हजार ६८७ जना र तेस्रो धेरै सङ्क्रमित रहेको दिल्ली प्रदेशमा ३८ हजार ९५८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।