नेताको पटक-पटक टेष्ट, जनताको मरेपछि मात्र !

नेताको पटक-पटक टेष्ट, जनताको मरेपछि मात्र !

काठमाडाैं । सरकारले क्वारेन्टिनमा भएका सबै व्यक्तिको पिसिआर परीक्षण नगर्ने निर्देशिका नै जारी गरेको छ। परीक्षणको चाप बढेपछि सरकारले कोभिड-१९ टेस्टिङको नयाँ निर्देशिका जारी गर्दै लक्षण नदेखिएकाको पिसिआर परीक्षण नगर्ने नीति लिएको हो । तर नेताहरुको भने पटक-पटक पिसिआर परीक्षण भैरहेको छ ।

कोरोना संक्रमणको उच्च जोखिममा रहेका भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुलाई समेत पिसिआर गराउन नसक्ने बताइरहेकोसरकारले केही सांसदहरूले दोस्रो पटकसम्म पिसिआर परीक्षण गरेका हुन् । 

संसद सचिवालयले सांसदहरूलाई आचारसंहिता जारी गर्दै उपत्यका छाड्न रोक लगाएको थियो। तर सांसदहरू राहत बाँड्ने नाममा जिल्ला पुगेर आउने र पुन: पिसिआर परीक्षण गराउन थालेका हुन्।

सांसदहरूको गत वैशाख २५ र २६ गते नयाँ बानेश्वरस्थित संसद भवन परिसरमै पिसिआरका लागि स्वाब संकलन गरिएको थियो। तर जिल्ला पुगेर फर्किएका सांसदहरूलाई संसद सचिवालयले पुनस् टेकु अस्पतालमा रिफर गर्दै पिसिआर गराएको हो।

संसद सचिवालयका स्वास्थ्य शाखाका डाक्टर पुष्प रिजालका अनुसार १५ जनाभन्दा धेरै सांसदले दोस्रो पटक पिसिआर गराएका छन्। पिसिआर गराउनेमा सांसदहरू कृष्णबहादुर महरा, कृष्णकुमार श्रेष्ठ (किसान) श्रेष्ठ, केदार सिग्देल, मातृका यादव, पदम गिरीलगायत रहेका छन्।