प्रधानमन्त्री निवासअगाडि प्रदर्शनमा उत्रिएकालाई प्रहरीको दमन

प्रधानमन्त्री निवासअगाडि प्रदर्शनमा उत्रिएकालाई प्रहरीको दमन

काठमाडाैं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअगाडि सडकमा प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले पानीका फोहरा र लाठी हानेको छ। कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा स्वतस्स्फूर्त रूपमा प्रदर्शन गरेका हुन्। उनीहरूले विभिन्न नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

प्रहरीले पानीको फोहोरा र  लाठी हानेपछि अहिले प्रदर्शनकारी तितरबितर भएका छन् । सरकारले हालै कोरोना रोकथाम  र नियन्त्रण गर्न दश अर्ब रुपैयाँ खर्च भइसकेको बताएको थियो। उक्त रकम केमा खर्च भयो भन्ने प्रश्न उठिरहेका छन्। यसअघि मंगलबार पनि केही नागरिकहरूले बालुवाटारमा प्रदर्शन गरेका थिए। 

बुधबार संसदमा सांसदहरूले दश अर्ब केमा खर्च भएको सरकारले पारदर्शी ढंगले जवाफ दिनुपर्ने बताएका थिए। उक्त प्रश्नमाथि जवाफ दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कोरोनासँग लड्ने बेला भएको र हिसाबकिताब पछि सार्वजनिक गर्ने बताएका थिए।