लकडाउनमा के गर्दैछन् सिने सेलिब्रिटी ?

लकडाउनमा के गर्दैछन् सिने सेलिब्रिटी ?

हरेकजसो विपतमा सबैभन्दा पहिले पीडा झेल्नु मनोरञ्जन क्षेत्रकै नियति हो । २०७२ को भूकम्पमा पनि लामो समयसम्म त्यसको मार मनोरञ्जन क्षेत्रमै परेको थियो । चैत ११ मा लकडाउन घोषणा हुनु अगावै बन्द भएका सिनेमा घर र फिल्म प्रोडक्सनका काम ७८ औं दिनसम्म ठप्प छन् । लकडाउन खुलिहाले पनि सबैभन्दा अन्तिममा पालो आउनेछ, मनोरञ्जन क्षेत्रको । यस्तो अवस्थामा नेपाली सिने सेलिब्रिटी के गरिरहेका छन् त ? आउनुस्, एकछिन सिने सेलिब्रिटीका सामाजिक सञ्जाल घुम्न जाऔं ।

राजेश हमाल


निकै ढिलो गरी सामाजिक सञ्जालमा देखिन थालेका अभिनेता राजेश हमाल लकडाउनको भरपूर सदुपयोग गरिरहेका छन् । उनी फिटनेस र पारिवारिक मायामा मस्त देखिन्छन् । त्यति मात्रै कहाँ हो र ? बेलाबेला नाचेका, बगैंचामा रमाएका फोटो पनि पोस्ट गर्छन् उनी । समसामयिक घटनाक्रमबारे पनि भिडियोमार्फत आफ्ना विचार पोख्छन् ।
वैवहिक जीवनको ६ वर्ष पुगिसक्दा पनि सन्तान नजन्माएका हमाल दम्पती लकडाउनको समय सदुपयोग गर्दै त्यता पनि सोचिरहेको विभिन्न सञ्चार माध्यमहरुले बताएका थिए । हेरौं, सोच्छन् मात्रै कि एक्सनमा पनि उत्रिन्छन् ?

रेखा थापा


सामाजिक सञ्जालमा अभिनेत्री रेखा थापाभन्दा उनका फ्यानहरुको उपस्थिति बाक्लो छ । टाइमलाइनमा हरेकले उनलाई स्यालुट गरेका पोस्ट  देख्न सकिन्छ । साथै उनका तर्फबाट आउने खुराक पनि समाजसेवाबारे हुने गरेका छन् । पहिलेपहिले गसिपमा मात्रै छाउने रेखा अहिले देशप्रेम र समाजसेवामा ढल्किएको सामाजिक सञ्जालमा नजर डुलाउँदा थाहा हुन्छ । 

हुन त अब उनी अभिनेत्री मात्रै होइन, नेत्री पनि हुन् । लगाउने कपडा, व्यक्तिगत जिन्दगीको लफडा र विवादास्पद अभिव्यक्तिका कारण गसिप बन्ने गरेकी नायिकाको एउटा लकडाउन स्ट्याटस पढौं : ‘हजार पानाको किताब लेखे पनि जिन्दगीको सत्य यही हो कि भोलि के हुन्छ ? कसैलाई थाहा छैन । आजका तीतामीठा पल स्वीकार गर्नुपर्छ । मरेर पनि मुक्ति पाइन्छ भन्ने के छ र ? बाँचौं, बाँचेरै संघर्ष गरौं ।’ सेलिब्रिटी देशका गहना हुन्, सधैं उनीहरुप्रति सम्मान छ । विशेष सम्मान, रेखाजीलाई ।

दयाहाङ राई


धेरै फिल्म खेलेर भविष्यको राजेश हमाल बन्ने मार्गमा हिँडेको आरोप खेपिरहने दयाहाङ राई लामो समयपछि फुर्सदमा छन् । लकडाउनमा उनी नेपालका सबै समाचार पढेर सक्छन् । उनले सामाजिक सञ्जालमा गिनेचुनेका अनलाइनका समाचार सेयर गर्ने गरेका छन् । कुनै कुनै समाचारमा उनले रोचक टिप्पणी पनि दिएका छन् । साथै सरकारले गरेका कमीकमजोरी र नकारात्मक कार्यको खुलेर विरोध गर्ने फुर्सद उनलाई लकडाउनले जुराएको छ । 

दौडादौडको जिन्दगीमा उनी यति धेरै व्यस्त हुन्थे कि,आफ्नै घरमा बस्न पनि उनको आफ्नै छोराले बाबा, आज हाम्रो घरमा बसौं नु भनेर आग्रह गर्नुपर्थ्यो रे । अहिले दिनरात घरमै बस्नु पर्दा कस्तो भएको होला ? उनी त्यही झोकमा सरकारलाई गाली गर्दै लकडाउन काटिरहेका छन् ।

अनमोल केसी


युवा पुस्ताका प्रिय अभिनेता अनमोल केसीले लकडाउनमा बारी खन्दै भजन गाउँदै गरेको भिडियो सेयर गरेका छन् । उक्त भिडियोमा अनमोलले अंग्रेजी भाषामा क्याप्सन पनि लेखेका छन्, जसको नेपाली अर्थ यस्तो छ, ‘यदि तिमी मलाई चामल दिन्छौ भने म आज खान्छु । यदि तिमी मलाई चामल कसरी खेती गर्ने भनेर सिकाउँछौ भने म दिनहुँ खान्छु । भविष्य हामीमध्येमै छ, जो हात फोहोर बनाउन तयार छ, हरे कृष्ण !’

भजनबाट निस्किएर पनि उनी आफ्ना फ्यानसँग रमाएका छन् । सामाजिक सञ्जालमा खासै सक्रिय नहुने उनी कहिलेकाहीँको सक्रियतामा जनावरप्रेमी देखिन्छन् । लकडाउनको समय उनी आध्यात्मिक मार्गको प्रयोग गर्दै खुसीका साथ दिन बिताइरहेका छन् ।

दीपकराज गिरी


चतुर दिमागका धनी दिपकराज गिरीको चतुर्याइँ लकडाउनले पनि छेक्न सकेको छैन । यो कुरा उनको सामाजिक सञ्जाल चाहर्ने हर कोहीलाई मज्जासँग थाहा हुन्छ । यसमा प्रभाव पर्न नसक्नुको कारण लकडाउनअघि पनि उनको चतुर्याइँ पोख्ने ठाउँ सामाजिक सञ्जाल नै भएर हुन सक्छ । सामाजिक सञ्जालमै लकडाउन हुने हो भने मात्रै उनलाई त्यसले छोला ।

सबै काम बन्द भएको बेला पनि उनका टिकाटिप्पणीले माहोल सधैं गरम बनाइराख्छ । कोही न कोहीसँग उनको पंगा चलिरहेकै हुन्छ । कोही पाएनन् भने उनी कलमे डनसँग निहुँ खोज्न तम्सन्छन् । त्यति भएपछि त काण्ड पुगिहाल्यो । 

लकडाउनका बेला घरमै बसीबसी केही हास्य कलाकारसँग ‘लकडाउन’ नामक सर्ट मुभीमा पनि देखिए, दीपक । त्यसैले सबै दिमाग टिकाटिप्पणी र चतुर्याइँमा मात्रै हैन, काममा पनि छ भन्ने देखाउन उनी सफल भएका छन् । 

दीपाश्री निरौला


सामाजिक सञ्जालहरु चियाउँदा हास्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाको दिमाग एक ठाउँमा अडिएको छैन । उनी पुराना यादहरुमा डुबिरहेकी छन्, समाजसेवामा पनि अगाडि बढिरहेकी छन् । पीआर मेन्टेन अझ भनौं, अन्य मानिसहरुलाई जन्मदिन, वैवाहिक जीवनदेखि पदाभारसम्मको शुभकामना दिन पनि भ्याएकी छन् । 

त्यति मात्रै कहाँ हो र ? मन छोएका कुरा सेयर गर्नेदेखि सर्ट मुभीमा घरमै बसीबसी अभिनय गर्नेसम्मको काम उनले लकडाउनमा गरेकी छन् । फुर्सदको समयमा दिमाग धेरै चल्छ भन्ने कुरा दीपाश्रीको सामाजिक सञ्जाल डुल्न निस्कनेले चाल पाउँछन् ।

निरुता सिंह


अभिनेत्री निरुता सिंह अहिले भारतमा छिन् । हुन त उनी जन्मेकी र हुर्केकी पनि भारतमै हो । तर सामाजिक सञ्जालमा उनका पोस्ट हेर्दा कुनै देशभक्त नेपालीको भन्दा कम छैन । अभिनय मात्रै होइन,सुमधुर स्वरकी समेत धनी रहेकी उनले टिकटकमा राष्ट्रिय भावका गीत गाउँदै सेयर गर्ने गरेकी छन् । 

उनको सामाजिक सञ्जाल चियाउँदा लकडाउनको समय उनी पुराना दिनको यादमा भुलेको प्रस्ट हुन्छ । निरुता सिंह ह्यासट्याग फ्ल्यासब्याक नामको युट्युब च्यानलबाट उनका पुराना सुटिङका भिडियो अपलोड हुने गरेको छ र त्यसलाई उनी अन्य सामाजिक सञ्जालमा बाँडेर पुराना दिन ताजा गराइरहेकी छन् । हरेक पुराना यादको अन्त्यमा घरमै सुरक्षित रहन आग्रह गरिएको छ । हामी पनि तपाईंलाई भन्छौं, स्वस्थ रहनुस्, मस्त रहनुस् है निरुताजी ।