जसपाको अध्यक्ष डा. बाबुराम भट्टराई नै होः राजेन्द्र महतो

जसपाको अध्यक्ष डा. बाबुराम भट्टराई नै होः राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा पेश गरिएको कागजपत्रमा डा. बाबुराम भट्टराईलाई चौथो वरीयतामा राखेपछि यतिवेला सो विषयले चर्चा पाइरहेको छ । तर जसपाका नेताहरुले भने संघीय परिषद्को अध्यक्ष डा. भट्टराई नै हुने पार्टीका नेताहरुले स्पष्ट पारेका छन् । निर्वाचन आयोगमा पार्टी दर्ता गराउदा हिजो उनको नाम चौथो नम्मरमा रहेकाले उनको भूमिका माथी प्रश्न उठिरहेका बेला संघिय परिषद्को अध्यक्ष उनी नै हुने पार्टीका नेताहरुले स्पष्ट परेका हुन् ।

पार्टीका प्रभावशाली नेता राजेन्द्र महतोले डा भट्टराईलाई संघिय परिषद्को अध्यक्ष बनाउने सहमती यसअघि नै भएको र त्यो कायमै रहेको जानकारी दिए। उनले पार्टी दर्ताका लागि सजिलो बनाउन डा भट्टराई चौथो नम्मरमा बस्न तयार भएको बताए ।

महतोले भने, “उहाँकै उदारतामा उहाँलाई चौथो नम्मरमा राखिएको हो, त्यसको लागि उहाँलाई धन्यवाद दिनु पर्दछ । ठूलो मिसन बोकेको र प्रधानमन्त्री भइसकेको व्यक्तिलाई अन्य पद गौण हुन्छ, त्यसैले उहाँले उदारता देखाउनु भएको हो । ”

बरिष्ठता, सन्तुलन र पार्टीको समान हैसियतका आधारमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष बनाइएको र समावेशिताका लागि अशोक राईलाई तेस्रो बरियतासहित बरिष्ठ उपाध्यक्ष बनाएको महतोले बताए।

सवै जाति र क्षेत्रका जनताको पाटी हो भन्ने सन्देश दिन पनि राईलाई बरिष्ठ उपाध्यक्ष बनाइएको महतोको भनाई छ । उनले पार्टीको आगामी बैठकले भट्टराईलाई संघिय परिषद् अध्यक्ष र आफुलाई संसदीय दलको नेतामा नियुक्त गर्ने सहमती भएको पनि दाबी गरेका छन्।