काठमाडौँ । बाढीले क्षति पुर्याएको रसुवागढी नाकाको पुनर्निर्माण तथा सिन्धुपाल्चोकको तातोपानी नाकालाई नियमित रूपमा सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कूटनीतिक पहल तीव्र पारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
शुक्रवार मन्त्रालयले नियमित प्रेस ब्रिफिङ आयोजना गर्दै यस्तो जानकारी दिएको हो। प्रेस ब्रिफिङमा बोल्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले नेपाल–चीन जोड्ने मुख्य व्यापारिक नाका सञ्चालनमा ल्याउन बिहीवार परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा सम्बन्धित विभाग तथा मन्त्रालयका प्रतिनिधिबीच अन्तरमन्त्रालय समन्वय बैठक सम्पन्न भएको बताए।
उनका अनुसार बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकामा पुर्याएको क्षतिको मूल्याङ्कन, पुनःनिर्माण लगायतका विषयमा छलफल भएको छ। यसअघि गत भदौ १० गते आएको बाढीपछि अवरुद्ध तातोपानी नाका बडादशैँको अवसरमा तीन दिनका लागि ठूला मालवाहक सवारीसाधन सञ्चालन गर्न खुला गरिएको थियो।
क्षेत्रीले भने, ‘भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले क्षति गरेको रसुवागढी नाका पुनः सञ्चालनमा ल्याउन पुनर्निर्माण लगायतका विषयमा छलफल गर्न र अन्य नाकाहरू खुलाउने विषयमा सम्बन्धित विभाग तथा मन्त्रालयहरूसँग परराष्ट्रमन्त्रीको उपस्थितिमा अन्तरमन्त्रालय समन्वय बैठक सम्पन्न भएको छ।’
प्रवक्ता क्षेत्रीले दक्षिण पूर्वी एशियाली देशहरूमा सञ्चालित अनलाइन स्क्यामिङ फसेका नेपाली नागरिकको उद्धारका लागि समेत आवश्यक पहल र समन्वय भइरहेको जानकारी दिए।