नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा बसेकाे ८१औं महासभाकाे बैंठकले उक्त निर्णय गरेको हाे । महासभामा प्रस्ताव नम्बर ८१/एल.८ सर्वसम्मतिले पारित गर्दै नेपाल र बंगलादेशको स्तरोन्नतिका लागि निर्धारित तयारी अवधि थप गर्ने निर्णय गरिएको न्युयोर्कस्थित संयुक्त राष्ट्र संघकाे लागि नेपालकाे स्थायी नियोगले जनाएको छ । 

यस निर्णयसँगै नेपालले अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारलाई थप प्रभावकारी रूपमा अघि बढाउन अतिरिक्त समय प्राप्त गरेको छ।

नेपालले यस अवधिलाई उत्पादन क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा आर्थिक र सामाजिक रूपान्तरणका लागि उपयोग गर्ने जनाएको छ। साथै, स्तरोन्नतिपछिको सहज संक्रमण सुनिश्चित गर्न तयार पारिएको सहज संक्रमण रणनीति (स्मुथ ट्रान्जिसन स्ट्राटेजी), दिगो विकासका लागि सन् २०३० को कार्यसूची तथा दोहा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिनेछ।

अतिरिक्त समयले नेपाललाई अति कम विकसित मुलुकको सूचीबाट सहज, दिगो र अपरिवर्तनीय रूपमा स्तरोन्नति हुने लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।नेपाली नियोगले उक्त निर्णयका लागि नेपालले संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रप्रति निरन्तरको सहयोग, ऐक्यबद्धता र समर्थनका लागि धन्यवाद व्यक्त गरेको छ।