जनता समाजवादीमा विवादः एकताका बाँकी काम मिलाउने जिम्मा शीर्ष तीन नेतालाई

जनता समाजवादीमा विवादः एकताका बाँकी काम मिलाउने जिम्मा शीर्ष तीन नेतालाई

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)मा नेतृत्व चयनका विषयमा विवाद बढ्दै गएको छ । विवादकै कारण पार्टी सुस्त बन्न थालेपछि एकताका बाँकी काम मिलाउने जिम्मा शीर्ष ३ नेतालाई दिइएको छ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको छलफलले सहमति जुटाउनका लागि नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई जिम्मेवारी दिएको हो ।

तत्कालीन राजपा नेपालको पार्टी कार्यालयमा भएको छलफलमा दुवै पक्षले नेतृत्व र पदाधिकारीमा आ-आफ्नो अडान नछाडेपछि एकताका बाँकी  कामसमेत टुंग्याउने गरि नेता त्रयलाई जिम्मेवारी दिएको नेता डा.सुरेन्द्र झाले जनाकारी दिए ।

गत वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएको थियो । निर्वाचन आयोगमा पार्टी एकीकरणका लागि निवेदन दिएको शनिबार ४५ दिन पुगे पनि एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने टुंगो अझै लाग्न सकेको छैन ।

एकीकृत पार्टीको कार्यकारी अधिकारसहित केन्द्रीय समितिको अध्यक्षमा महन्त ठाकुरलाई र संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराईलाई राख्ने भद्र सहमति भए पनि कार्यकारी अधिकारका विषयमा अन्य नेताले असहमति जनाउँदै आएका छन् ।