अस्ट्रेलियामा रहेका विद्यार्थीको समस्याबारे इक्यानको चासोः राजदूत दाहालले छलफलमा भने, 'सहजीकरणका लागि समन्वय भइरहेको छ'

अस्ट्रेलियामा रहेका विद्यार्थीको समस्याबारे इक्यानको चासोः राजदूत दाहालले छलफलमा भने, 'सहजीकरणका लागि समन्वय भइरहेको छ'

काठमाडौं । कोभिड कहरबीच अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था र सहजीकरणबारे नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले क्रियाशीलता देखाएको छ । संघले शुक्रबार अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालसँग छलफल गरेको छ ।

इक्यानद्वारा शुक्रबार आयोजित वेबिनारमा राजदूत दाहालले विदेशमा रहेका विद्यार्थीबारे उचित चासो राख्न सुझाव दिए । पेशागत इमानदारिता कायम राखेर काम गर्न पनि दाहालले सुझाए । धेरै परामर्शदाताले राम्रो काम गरे पनि केहीले व्यवसायिक लाभभन्दा माथि नहेरको पनि राजदूत दाहालले टिप्पणी गरे ।

विद्यार्थीहरुले पाइरहेका दुःखबारे सहजीकरण गर्ने र उनीहरुलाई सहयोग गर्न परामर्शदाताको भूमिका महत्वपूर्ण हुने दाहालले बताए । विदेशमा रहेका विद्यार्थीबारे संघले पनि उत्तरदायित्व बहन गर्नुपर्ने दाहालले धारणा राखे । उनले अस्ट्रेलियामा रहेका नेपालीबारेमा दूतावासले जानकारी लिइरहेको र सहयोगका लागि  विभिन्न संघ संस्थासँग समन्वय गरिरहेको पनि बताए ।

वेबिनारमा इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले विद्यार्थीको हकहितका लागि आफूहरु गम्भीर रहेको बताए । कोरोना कहर बढेसँगै उच्च शिक्षाका लागि विदेशमा रहेका नेपाली विद्यार्थीहरुको अवस्थाप्रति शैक्षिक परामर्शदातृ निकाय चिन्तित रहेको पाण्डेले बताए । त्यसका लागि आवश्यक समन्वय भइरहेको उनले जानकारी दिए ।

इक्यानले कोरोना महामारी फैलिएपछि उच्च शिक्षाका लागि विदेशमा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्न आपतकालीन फारममार्फत समस्या दर्ता प्रक्रिया पनि थालेको छ । उक्त फारममा विद्यार्थीले आफ्नो समस्या दर्ता गर्न सक्नेछन् । यस बाहेक इक्यानले  ‘इक्यान कोभिड–१९ आपतकालीन रजिष्ट्रेसन फारम’ को पनि सुरुवात गरेको छ ।

वेबिनारमा इक्यान पदाधिकारी तथा पूर्व अध्यक्षहरुको सहभागिता थियो।