सङ्क्रमितको कुल संख्यामा भारतले इटलीलाई उछिन्यो

सङ्क्रमितको कुल संख्यामा भारतले इटलीलाई उछिन्यो

काठमाडाैं । भारतमा कोरोना भाइरस सङ्क्रमितहरूको संख्यामा तीव्र गतिमा बढेर अहिले दुई लाख ३६ हजार नाघेको छ । त्यहाँ कोभिड-१९ ले साढे ६ हजारभन्दा धेरै मानिसको ज्यान लिइसकेको छ। अहिले संसारभरिमा कोरोना भाइरस सङ्क्रमित हुनेको संख्यामा ६७ लाखभन्दा धेरै पुगेको छ।

साथै झन्डै चार लाख मानिसको ज्यान गइसकेको छ। कोभिड-१९ महामारीबाट सर्वाधिक प्रभावित अमेरिकामा झन्डै १९ लाख सङ्क्रमित छन्। त्यसपछि क्रमश: ब्रजिल (छ लाखभन्दा धेरै), रुस (साढे चार लाख), यूके (दुई लाख ८४ हजार) र स्पेन (दुई लाख ४० हजार) छन्।

छैटौं स्थानमा भारत र त्यसपछि इटली (दुई लाख ३४ हजार) छन्। अमेरिकामा मात्रै एक लाख नौ हजार जनाको ज्यान गइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको आँकडाले देखाउँछ।

भारतमा सबभन्दा धेरै सङ्क्रमित पश्चिमी राज्य महाराष्ट्रमा छन्। त्यहाँ सङ्क्रमितहरूको सङ्ख्या ८० हजार नाघेको छ भने २,८०० जनाको ज्यान गइसकेको छ। दक्षिणी राज्य तमिलनाडुमा सङ्क्रमितको सङ्ख्या २८,००० भन्दा बढी छ। दिल्लीमा २६,००० र गुजरातमा १९,००० भन्दा बढी सङक्रमित छन्।

नेपालको छेउछाउमा रहेका भारतीय राज्यमध्ये उत्तर प्रदेशमा झन्डै १०,०००, बिहारमा ४,५००, उत्तराखण्डमा १,२००, पश्चिम बङ्गालमा ७,००० भन्दा धेरै अनि सिक्किममा तीन जना सङ्क्रमित पाइएको विवरण भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको छ।