काठमाडौं । जेठको पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट नेपाल भित्रिएको कोरोना भाइरस अरू देशको भन्दा कडा खालको रहेको बताएका थिए । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘चीनबाट आएको भाइरस अलिक नरमै देखिएको थियो, इटालीबाट आएको पनि नरमै देखिएको थियो, दुवईबाट आएको पनि नरमै थियो तर भारतबाट आएको चाहिँ अलिक कडा देखियो ।’
त्यतिबेला भारतीय मिडियाले प्रधानमन्त्री ओलीको उक्त भनाइलाई ‘आधारहीन’ देखाउन कुनै कसर बाँकी राखेनन् । भारतका केही टेलिभिजन च्यानलले यस विषयमा ‘टक शो’ नै चलाए । तर अहिले भारतीय वैज्ञानिकहरुले नै भारतमा कोरोना भाइरसको नयाँ प्रकार पाइएको पुष्टि गरेका छन् ।
हैदरावादको सेन्टर फर सेल्युलर एन्ड मोलिक्यूलर बायोलोजी (सीसीएमबी)का वैज्ञानिकले भारतका कोरोना संक्रमितमा कोरोनाभाइरसकै नयाँ प्रकारको भाइरस पत्ता लगाएका हुन् । यस्तो भाइरस दक्षिणी राज्य तमिलनाडु र तेलंगानामा बढी पाइएको छ । वैज्ञानिकहरुले भाइरसको यो अनौठो समूहलाई ‘क्लेड ए ३आइ’ नाम दिएका छन् । यस्तो भाइरस भारतमा जीनोम (जीनहरुको समूह) सिक्वेन्सका ४१ प्रतिशत नमूनामा पाइएको छ ।
सीसीएमबीका निर्देशक तथा रिसर्च पेपरका सहलेखक राकेश मिश्राका अनुसार तेलंगाना र तमिलनाडुबाट लिइएका धेरैजसो नमूनामा ‘क्लेड ए ३ आइ’ पाइएको छ । भारतमा यतिबेला कोरोन भाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको छ । देशमा दुई लाख १७ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने ६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।