लकडाउनमा हुँदैछ यस्तो परिवर्तन, निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

लकडाउनमा हुँदैछ यस्तो परिवर्तन, निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । ७२ औं दिनदेखि जारी लकडाउनको मोडालिटी परिवर्तन गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ । ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्ने वालुवाटार स्रोतले बतायो ।  लकडाउनको अवज्ञा बढ्दै जान थालेपछि प्रधानमन्त्री केपी ओलीले लकडाउनको स्वरुप परिवर्तनको लागि आजै विज्ञहरुसँग छलफल गर्दैछन् । 

ओलीले लकडाउन तथा यसले पारेको प्रभावबारे छलफल गर्न विज्ञ समूहलाई वालुवाटार नै बोलाएका हुन् । मन्त्रिपरिषद् बैठक अगाडि छलफलका लागि ओलीले स्वास्थ्य, अर्थ, सामाजिक क्षेत्रका २५ जना विज्ञहरूलाई बालुवाटार बोलाइएका हुन् । छलफलमा स्वर्णिम वाग्ले, डा भगवान् कोइराला, डा लोचन कार्की लगायतको समूहलाई पनि डाकिएको छ। 

मोडालिटी परिवर्तनको जिम्मेवारी पाएको कोभिड १९ उच्चस्तरीय समन्वय समितिलाई पनि आफ्नो राय बुझाइसकेकोले आजको मन्त्रिपरिषद् बैठकमा सोही रायलाई आधार मानि लकडाउनको स्वरुप परिवर्तन गरिने तयारी गरिएको छ ।


उच्च स्तरीय समितिले मङ्गलवार उद्योग व्यवसायी र सामाजिक क्षेत्रका व्यक्तिहरूसँग छलफल गरेको थियो। उद्योगीहरुले एरिया छुट्टाएर जनजीवन सहज बनाउँदै लैजानुपर्ने सुझाव दिएका थिए। पछिल्लो पटक जेठ ३२ गतेसम्म लकडाउन थपिएको छ। त्यस अगावै मोडालिटी परिवर्तन गर्न समितिले सरकारलाई सुझाव दिएको थियो । 

कोरोनो संकट व्यवस्थापन समिति (सीसीएमसी)ले संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र एलो जोनको सिफारिस गरेको छ । यसअघिका कतिपय एलो र ग्रीन जोन भनिएका क्षेत्र अहिले संक्रमण बढेर रेड जोनमा पुगेकाले सीसीएमसीले पछिल्लो अवस्था अनुसार कहाँ कहाँ लकडाउन खुकुल्याउने भन्ने प्रस्ताव तयार पारिसकेको छ ।

काठमाडौं लगायतका क्षेत्रमा लकडाउन खुकुलो बनाउने तर स्कूल कलेज, सिनेमा हल लगायत भिडभाड हुने क्षेत्रहरु भने बन्दै रहने गरि लकडाउन खुकुलो बनाउन सीसीएमसीले सुझाव दिएको छ । रेष्टुरेन्टहरुमा पनि शुरुमा मान्छेहरु बसेर खानपिन गर्ने भन्दा पनि ‘टेक वे’ होम डेलिभरीका रुपमा खुलाउने र पछि विस्तारै मापदण्ड बनाएर एउटा टेबुलमा बढीमा २ जनासम्म बस्ने गरि खुलाउँदै जान सकिने सुझावमा उल्लेख छ ।