अमेरिकामा प्रहरी प्रमुखको गोली हानी हत्या

अमेरिकामा प्रहरी प्रमुखको गोली हानी हत्या

जर्ज फ्लोइडको हत्या विरोधमा मच्चिएको हिंसाका दौरान अमेरिकामा एक पुलिस अधिकारी मृत अवस्थामा फेला परेका छन् । ७७ वर्षीय सेन्ट लुइस पुलिस अधिकारी डेविड डोर्न अमेरिकी समय अनुसार मंगलबार बिहान २ः३० बजे एक गहना पसलबाहिर गोली हानी हत्या गरिएको पुलिस कमिस्नर जोन हाइडेनले बताए ।

डोर्न सन् २००७ मा सेन्ट लुइस पुलिस डिपार्टमेन्टमा ३८ वर्ष सेवा गरी मिसौरीको सानो सहर मोलन एसरेसको प्रहरी प्रमुखका रुपमा कार्यरत थिए । उनकी पत्नी एन मेरीले सेन्ट लुइस पोस्टलाई बताए अनुसार गहना पसलका मालिक डोर्नका साथी थिए । 

अमेरिकामा प्रहरी अधिकारी मारिएको यो पाँचौं घटना हो । पछिल्लो समय प्रहरी र प्रदर्शनकारी दुवै हिंस्रक हुँदै गएका छन् । मे २५ मा मिनेपोलिसका तीन प्रहरी अधिकृतले अफ्रिकन अमेरिकी नागरिक जर्ज फ्लोइडको हात पछाडि बाँधेर प्रहरीको गाडीछेउमै भुइँमा लडाउँदै घाँटी थिचेर हिरासतमै हत्या भएपछि स्थिति हिंसात्मक बन्दै गएको छ ।

गोरा जातिका डेरेक चौभिन नामक प्रहरी अधिकृतले ८ मिनेटभन्दा धेरै बेरसम्म घाँटी थिचेर उनको हत्या गरेका थिए । अन्य दुई अधिकृत ताउ थाओ र जे अलेक्जेन्डर क्युङ पनि जर्जको हत्यामा संलग्न थिए । 

जीवन रक्षाका लागि याचना गरिरहेका जर्जको ८ मिनेट ४६ सेकेन्डको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि ५० राज्यका २ सय सहरमा व्यापक हिंसात्मक प्रदर्शन भएका छन् । एक रेस्टुरेन्टका सुरक्षागार्ड ४६ वर्षीय जर्ज पेरी फ्लोइड लकडाउनका कारण बेरोजगार बनेका थिए । ९एजेन्सी०