कोरोनाबाट सर्वाधिक प्रभावित मुलुकको सातौं स्थानमा पुग्यो भारत

कोरोनाबाट सर्वाधिक प्रभावित मुलुकको सातौं स्थानमा पुग्यो भारत

नयाँ दिल्ली । भारत कोरोना भाइरसबाट सर्वाधिक प्रभावित हुने मुलुकको सातौं नम्बरमा पुगेको छ। विश्व स्वास्थ्य संगठनले जारी गरेको आँकडाले भारत सर्वाधिक कोरोना प्रभावित सातौं मुलुक भएको देखाएको हो।

संगठनको आँकडा अनुसार भारतमा १ लाख ८२ हजार १ सय ४३ संक्रमित प्रमाणित भइसकेका छन्। यस्तै ५ हजार १ सय ६४ जनाको मृत्यु भएको छ। यसैगरी जोन्स हपकिन्स विश्वविद्यालयले भारतमा संक्रमित संख्या दुई लाखको नजिक पुगेको जनाएको छ।

विश्वविद्यालयका अनुसार भारतमा हालसम्म संक्रमित संख्या १ लाख ९० हजार ६ सय ९ पुगेको छ भने सोका कारण ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय ८ पुगेको छ। 

विश्वमा हाल अमेरिका र ब्राजिल सबैभन्दा धेरै कोरोना प्रभावित मुलुक हुन्। अमेरिकामा हालसम्म कोरोनाका कारण १ लाख बढी मानिसहरूको ज्यान गइसकेको छ भने १७ लाख मानिसमा संक्रमण पुष्टि भइसकेको छ। यसैगरी ब्राजिलमा संक्रमित संख्या ५ लाख बढी भएको छ भने ३० हजारबढीको ज्यान गइसकेको छ।