नेकपा सचिवालय बैठक बस्दै, विवादास्पद एमसीसी पास गराउने तयारी

नेकपा सचिवालय बैठक बस्दै, विवादास्पद एमसीसी पास गराउने तयारी

काठमाडौं । सरकारले संसदमा विचाराधीन अवस्थामा रहेको विवादास्पद एमसीसी पारित गराउने तयारी गरिरहेकै बेलाम त्यसबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि बोलाइएको सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परियोजनाबारे विवाद उत्पन्न भएपछि नेकपाले पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्व, भीम रावल  र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन–सुझाव कार्यदल बनाएको थियो । केन्द्रीय कमिटीले दिएको म्यान्डेट अनुरूप कार्यदलले फागुन दोस्रो साता नै प्रतिवेदन तयार पारेर बुझाइ सकेको थियो । सचिवालय  र स्थायी कमिटीमा छलफल हुनुपर्ने भन्दै कार्यदलले प्रतिवेदन सार्वजनिक समेत गरिसकेको छ । 

कार्यदलले एमसीसीका धेरै प्रावधान नेपालको हितमा नरहेको निरक्यौल गरेको छ । त्यस्तै कार्यदलले एमसीसी परियोजना अमेरिकी सरकारको हिन्द–प्रशान्त क्षेत्रीय रणनीति र प्रकारान्तरले सैन्य गठबन्धनसँग नैसम्बन्धित भएको निष्कर्ष निकालेको छ  । पार्टीका वरिष्ठ नेता खनालले एमसीसीसँग सम्बन्धित नै रहेर विभिन्न गोप्य र असमान सम्झौता समेत गरिएको भन्दै संशोधन नगरी पारित गर्न नसकिने बताउँदै आएका छन् । संशोधन गर्न ३०–३२ बुँदे सुझाव पेश गरेका छन् ।


आज त्यसबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । “एमसीसीबारे छलफल गर्न नै आजको बैठक बोलाइएको हो । त्यसमै छलफल केन्द्रित हुनेछ,” उनले भने । प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएअनुसार आज बस्ने सचिवालय बैठकले एमसीसी परियोजना पारित गर्नुपर्ने निष्कर्ष निकाल्नेछ ।