एसईई र कक्षा १२ को परीक्षा असारमा गर्न सिफारिस

एसईई र कक्षा १२ को परीक्षा असारमा गर्न सिफारिस

काठमाडौं । कोरोनाको कारण स्थगित भएको एसईई  र कक्षा १२ को परीक्षा सञ्चालनका बारेमा अध्ययन गर्न गठित समितिले अहिलेकै जस्तो अवस्था कायमै रह्यो भने असार पहिलो साता सम्म परीक्षा गर्न सकिने निश्कर्ष सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । कारोना भाईरसको जोखिमका कारण अन्तिम समयमा स्थगित भएका परीक्षा सञ्चालनका बारेमा अध्ययन गर्न परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल संयोजकत्वमा गठित समितिले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको हो ।

समितिले सोचे जस्तै भएमा स्वास्थ्य सचेतता अपनाउँदै असारको पहिलो साता परीक्षा गर्न सकिने निश्कर्ष निकालेको श्रोतले बताएको छ । दुबै कक्षाको एकै दिन विहान र दिउँसो परीक्षा गर्न सकिने सुझाव दिइएको छ । तर, त्यस अघि विभिन्न ३ वटा निकायबाट मञ्जुरी जरुरी हुने प्रतिवेदनमा उल्लेख छ ।

यस अघि तोकिएका १ हजार ९ सय ९५ परीक्षा केन्द्र अन्र्तगत उपकेन्द्रहरु बनाएर विद्यार्थीलाई घर पायक पर्ने गरी परीक्षा गर्न सकिने प्रतिवेदनमा सिफारिस गरिएको छ । ५ सय भन्दा धेरै विद्यालयमा अहिले क्वारेण्टाईन बनाईएकोले परीक्षा अघि ती विद्यालयहरुको निर्मलीकरण गर्न जरुरी रहेको पनि प्रतिवेदनमा सिफारिस गरिएको छ ।

परीक्षा लिएको ४५ दिन भित्र नतिजा निकाल्न सकिने बोर्डको क्षमता रहेको भन्दै समितिका संयोजक पौडेलले आफूहरुलाई प्राप्त म्याण्डेडका आधारमा प्रतिवेदन बुझाएको बताए । उक्त प्रतिवेदन सरकारको सम्पत्ति भएकाले त्यसमा भएका विस्तृत कुरा शिक्षा मन्त्रालयबाटै बुझ्न उनले सुझाव दिए ।

'परीक्षा नगरे पनि हुन्छ भन्ने खालका कुराहरु विभिन्न मिडियामा आएको देख्दै पढ्दै त छौं, तर हामीले गरेको छलफलमा सहभागी सबै क्षेत्रका प्रतिनिधिले परीक्षा गर्नै पर्छ भन्ने सुझाव दिएको आधारमा हामीले शिक्षा मन्त्री ज्यूलाई प्रतिवेदन बुझायौं, उनले भने 'कुनै न कुनै दिन त अवस्था नर्मल भईहाल्छ अनी लिदाँ पनि हुन्छ भन्ने मत आएको छ, त्यसो हो भने बोर्ड तयारी हालतमा बस्ने र गृहकार्य गर्ने भन्ने आधारमा हामीले सुझाव दिएका छौं ।' 

प्रतिवेदन तयार पार्नु अघि विभिन्न सरोकारवालाहरु, विज्ञ तथा अभिभावकहरुसँग व्यापक छलफल गरी विभिन्न ८ वर्गमा सूचना वर्गिकरण गरेर विश्लेषण गरिएको पनि उनले बताए । आफूहरुलाई कक्षा १०, ११ र १२ को परीक्षाका बारेमा अध्ययन गर्न म्याण्डेड दिएकोले त्यस तलका कक्षाका बारेमा कुनै सिफारिस नगरे पनि छलफलका क्रममा उठेका विषयलाई जस्ताको त्यस्तै समेटिएको उनको भनाई छ ।