जेठ १५ः राजतन्त्र ढलेर गणतन्त्र स्थापना भएकाे दिन

जेठ १५ः राजतन्त्र ढलेर गणतन्त्र स्थापना भएकाे दिन

काठमाडौँ।  आज जेठ १५ गते । लामाे राजतन्त्रको अन्त्य भई नेपालमा जनताको शासन सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन आज ।  अनि नेपालको राजनीतिक इतिहासको एक अविस्मरणीय दिन । यही दिन जनता र राजाबीचको लडाइँमा अन्ततः जित जनताकै हुन्छ भन्ने यथार्थले मूर्तरूप लिएको थियो ।

आजैका दिन २०६५ साल जेठ १५ गते बसेको संविधान सभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई गणतन्त्रमा लैजाने प्रस्ताव अत्यधिक मतले पारित गरेको थियो । गणतन्त्र घोषणा भएको आज १२ वर्ष पुगेर १३ वर्ष लागेको छ ।

विगत वर्षमा नेपाल सरकारले गणतन्त्र दिवसलाई धूमधाम र उत्सवका साथ स्वदेश तथा विदेशमा तीन दिनसम्म मनाउने गरेको थियो । साथै गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गर्ने र सो समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने परम्परा थियो तर यस वर्ष कोरोना भाइरस रोग (कोभिड– १९)को महामारीले देशभर बन्दाबन्दी रहेकाले गणतन्त्र दिवस शुभकामना सन्देश आदान प्रदानमै सीमित हुने भएको छ ।