रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८१४ पुग्यो

रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८१४ पुग्यो

रौतहट । रौतहटमा बुधबार थप ३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ५ पुगेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले २८ जनाको काठमाडौंको टेकुस्थित प्रयोगशालामा र ७ जनाको हेटौंडामा गरिएको परीक्षणमा पोजिटिभ देखिएको पुष्टि गरे ।

चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै गढीमाई नगरपालिकाका बासिन्दा हुन् । त्यहाँ क्वारेन्टाइन नभएकाले उनीहरुलाई चन्द्रपुरमा राखिएको हो । त्यस्तै गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाहीगोनाहीमा २, र कटहरिया नगरपालिकामा २ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । ‘उनीहरु सबै भारतबाट आएका नेपालीहरु हुन् । सबैको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने, ‘संक्रमण देखिएकाहरुलाई कहाँको आइसोलेसनमा राख्ने भन्ने छलफल हुँदैछ ।’

प्रजिअ घिमिरेका अनुसार चार दिनभित्र जिल्लामा ८३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । अहिले दिनहुँ भारतबाट जिल्लामा भित्रिनेहरुको संख्या सयको हाराहारीमा छ । यसअघि रौतहटमा मंगलबार मात्रै २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । रौतहटमा अहिलेसम्म तीन जना निको भएका छन् ।

आज बिहान बागलुङका ६ सहित ७ जनामा कोरोना पुष्टि भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ८१४ पुगेको छ भने ४ जनाको निधन भएको छ ।