गृहमन्त्री गुरुङकी आमाको भिडिओ सार्वजनिक गर्ने प्रहरी नियन्त्रणमा

गृहमन्त्री गुरुङकी आमाको भिडिओ सार्वजनिक गर्ने प्रहरी नियन्त्रणमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङको भिडिओ सार्वजनिक गर्ने एक युट्यूवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कालीकोट घर भई भक्तपुर बस्ने छत्र बोगटीलाई भक्तपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले बताए ।

उनलाई वैयक्तिक गोपनीयताको हक हनन गरेको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । गुरुङकी ४९ वर्षीया आमा ज्ञानु लामा (ज्वालादेवी चण्डिमाता) ले आफ्नो अनुमतिबिना भिडिओ खिची सामाजिक सञ्जालमा सार्वजनिक गरेर गोपनीयता हनन गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा निवेदन दिएकी थिइन् । सोही उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।

लामो समयदेखि घरबार त्यागेर धार्मिक जीवन बिताउँदै आएकी लामाको भिडिओ केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडिओमा उनले छोरा सुदनसितको सम्बन्धबारे अनौपचारिकरुपमा कुराकानी गरेको सुनिन्छ । आफ्नो दुई छोरी र एक छोरा भएको उनले बताएकी छन् । छोरा गृहमन्त्री भएपछि भेट नभएको र कहिलेकाही काम पर्दा छोराले फोन गर्ने गरेको उनको भनाइ छ ।

छोराले तपाईंलाई खर्चपर्च दिने गर्नुभएको छैन ? भन्ने प्रश्नमा उनले जवाफ दिएकी छन्, ‘मेरो हातखुट्टा सग्ला छन् । अहिले मलाई छोराछोरीको सहयोग चाहिएको छैन । साह्रै आपत पर्दा उनीहरुले सहयोग गर्ने हो ।’

लामाले आफ्नो विभिन्न आश्रममा बस्दै आएको बताएकी छन् । तर सडकमा मागेर खानुपर्ने अवस्था नभएको उनको भनाइ छ । छोरालाई भेट्न जानुहुन्न ? भन्ने प्रश्नमा उनले भनेकी छन्, ‘अहिले मेरो व्यवस्था मिलिसकेको छैन । व्यवस्था मिलेपछि भेट्न बोलाउँछु ।’

आफ्नो भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि लामा आक्रोशित बनेकी थिइन् । उनले एउटा लामो भिडिओ सार्वजनिक गर्दै अनुमतिबिना लुकेर भिडिओ खिचिएको बताइन् ।‘मैले अन्तर्वार्ता लिन अनुमति दिएको थिइनँ । यत्तिकै गरेको कुराकानीलाई भिडिओ खिचेर भाइरल गरिएको रहेछ । उनीहरुमाथि कारवाही हुनुपर्छ । मलाई केही भयो भने उनीहरुले जिम्मेवारी लिनुपर्छ’ लामाले भनेकी छन् ।

पैसा कमाउनकै लागि कसैको व्यक्तिगत जीवनमा आँच आउने काम नगर्न उनको आग्रह छ । आफूलाई समाजसेवीसमेत बताउने लामाले भनेकी छन्, ‘कसैको व्यक्तिगत जीवनको कुरा प्लीज भाइरल नगर्नु । व्यक्तिगत जीवनमा यसले टर्चर हुन्छ । त्यो भिडिओ कतिबेला फोटो खिचियो मलाई थाहा छैन । बाटोमा हिँड्दा भेटेका व्यक्तिले भिडिओ खिचेर पैसा कमाउन भाइरल गरेछन् । यसरी बिनामिहिनेत पैसा कमाउन खोज्नु हुँदैन । सत्तामा गएपछि रिस डाहा गर्नेहरु धेरै हुन्छन् । उसलाई कसरी ढाल्ने भनेर लाग्छन् । आफ्नै देशको नागरिकलाई यसरी खेदो खन्नु हुँदैन । संसारलाई बचाउँ, हामी पनि बाँचौँ ।’

गृहमन्त्री निकट स्रोतका अनुसार उनी सानै हुँदा आमाले छोडेर हिँडेकी थिइन् । त्यसपछि उनलाई मावली परिवारले हुर्काएका थिए ।पक्राउ परेका छत्र बोगटी (सर्विन) कलाकार पनि हुन् । उनी नेपाली लोक तथा देउडा गायक, संगीतकार र डिजिटल क्रिएटरका रूपमा परिचित छन् । उनले गायिका अञ्जु पन्तलगायतका कलाकारहरूसँग गीत गाएका छन् र आफ्नै युट्युव च्यानल मार्फत पनि सिर्जनाहरू सार्वजनिक गर्ने गर्छन् ।