क्वारेन्टाइन स्थलमै डाक्टरका दुई समूहबीच कुटाकुट

क्वारेन्टाइन स्थलमै डाक्टरका दुई समूहबीच कुटाकुट

वीरगञ्ज । कोरोना भाइरसविरुद्धको लडाइमा अग्र पंतिमा खटिएर चर्चामा रहेका चिकित्सकहरु मंगलबार भने आपसमै कुटाकुटमा गरेर चर्चामा आएका छन् । वीरगञ्जमा चिकित्सकहरुको दुई समूहबीच कुटाकुट भएको हो । सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर भएको विवाद हात हालाहालसम्मको अवस्थामा पुगेको हो ।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत जुनियर चिकित्सक डा. दीपक चौरसिया र नेशनल मेडिकल कलेजका डा. मधुरञ्जन सिंह पक्षबीच हात हालाहाल भएको हो । नारायणी अस्पतालका चिकित्सक बस्दै आएको टाउन हल क्वारेन्टाइन स्थलमै सिंह नेतृत्वको टोलीले विवाद गर्न पुगेका थिए ।

विवादको क्रममा सिंह नेतृत्वको टोलीको आक्रमणबाट नारायणी अस्पतालका चिकित्सक डा. दीपक चौरसिया सामान्य घाइते भएका थिए । एनएमए नारायणी जोन ब्रान्च नाम भएको ह्वाट्सप ग्रुपमा डा. मधुरञ्जन सिंहले लामो समयदेखि सरकारी अस्पताल र चिकित्सकलाई गाली गलौच गर्दै नकारात्मक टिप्पणी गर्दै आएका भन्दै अस्पतालका जुनियर चिकित्सकहरुले त्यसको प्रतिवाद गरेपछि विवाद सिर्जना हुन गएको थियो । 

यसैबीच नेपाल चिकित्सक संघ वीरगञ्जले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।