२ सैनिकसहित थप ५ जनामा कोरोना पुष्टि

२ सैनिकसहित थप ५ जनामा कोरोना पुष्टि

बारा । बारामा क्वारेन्टाइनको सुरक्षार्थ खटिएका नेपाली सेनाका दुई जना जवानसहित पाँच जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पचरौता नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनको सुरक्षार्थ खटिएका ती सैनिकसँगै सोही क्वारेन्टाइनमा बस्दै आएका अन्य तीन जनामा पनि कोरोनासंक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए ।

सैनिकमध्ये एक जनाको ३५ र अर्कोको ३७ वर्ष उमेर रहेको पण्डितले जानकारी दिए । क्वारेन्टाइनमा बस्नेहरु र दुई सैनिकको एक हप्ता अघि स्वाब संकलन गरी काठमाडौं पठाइएकोमा मंगलवार रिपोर्ट आएको हो ।

आज संक्रमण पुष्टि भएकामध्ये तीन जनालाई जिल्ला अस्पताल कलैया र दुई जनालाई वीरगञ्जस्थित गण्डक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनीले जानकारी दिए ।बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले संक्रमितहरुलाई अस्पताल लैजाने तयारी भइरहेको जानकारी दिए ।

यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ । दुई जना उपचारपछि निको भएर घर फर्किएका छन् भने एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।