सर्वाधिक कोरोना संक्रमित भएको १० औं मुलुक बन्यो भारत
नेपाल डेली
सोमबार, १२ जेठ २०७७, ०९ : ५९ मा प्रकाशित
भारत कोरोना भाइरसबाट सर्वाधिक प्रभावित १० औं मुलुक बनेको छ। आइतबार इरानलाई पछाडी पार्दै संक्रमित संख्याको आधारमा भारत विश्वको १० औं सर्वाधिक कोरोना संक्रमित भएको मुलुक बनेको हो।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार भारतमा संक्रमित संख्या १ लाख ३८ हजार ८ सय ४५ पुगेको छ भने सोका कारण ज्यान गुमाउनेको संख्या ४ हजार २४ पुगेको छ। पछिल्लो १३ दिनको अवधिमा मात्र संक्रमित संख्या दोब्बर भएको छ।
आइतबार मात्र त्यहाँ ६ हजार ६ सय ३४ नयाँ संक्रमित फेला परेका छन्। पछिल्ला १० हजार संक्रमित दुई दिनको अवधि थपिएका हुन्। भारतमा पहिलो १० हजार संक्रमित ४३ दिनको अवधिमा भेटिएका थिए। भारतमा पछिल्लो ५ दिनमा औसतमा ६ हजार १ सय २ का दरमा संक्रमित थपिदैं आएका छन्।
आइतबार मात्रै राजधानी दिल्लीमा थप ५ सय ८ नयाँ संक्रमित पुष्टि भए। योसँगै राजधानी दिल्लीमा कुल संक्रमित संख्या १३ हजार ४ सय १८ पुगेको छ।