नेकपा नेता पौडेल र कोरोना सङ्क्रमित उनकी श्रीमतीका बारेमा भ्रामक हल्ला फिजाउने पक्राउ

पूर्वसांसद तथा संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अनन्त पौडेल र कोरोना सङ्क्रमित उनकी श्रीमतीका बारेमा भ्रामक प्रचार गर्दै सामाजिक सञ्जालका अफवाह फैलाउने नितेश रिजाललाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

निजगढ नगरपालिका १२ रतनपुर घर भएका रिजाललाई वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले हेटौँडा–५ भैरवरोडबाट पक्राउ गरेको हो । रिजालले शनिबार सामाजिक सञ्जाल फेसबुकमा हेटौंडा–३ मा कोरोना सङ्क्रमित महिला पूर्वसांसद पौडेलकी श्रीमती भएको र घरमा क्यानडाबाट आएको छोरीले पार्टी दिएको, सूर्यले हेटौंडा डुबाउँदैछ भन्ने अफवाह फैलाउने भ्रामक भिडियो पोष्ट गरेका थिए ।

पौडेलसहित हेटौंडावासीले रिजाललाई पक्राउ गर्न चौतर्फी दबाब दिएको जनाइएको छ । पक्राउ परेका रिजाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको, घटनाको अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।