भारतमा कोरोना संक्रमितको संख्या १ लाख २५ हजार नाघ्यो, ३ हजार ७२० जनाको निधन

भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख २५ हजार १०१ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शनिबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ७२० जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ५१ हजार ७८४ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

हाल भारतमा ६९ हजार ५९७ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ । कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ४४ हजार ५८२ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १४ हजार ७५३ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा १३ हजार २६८ संक्रमति रहेका छन् । दिल्लीमा १२ हजार ३१९ जना कोरोना संक्रमित रहेका छन् ।

भारतमा करिब दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो ।