आजतकमार्फत वरिष्ठ भारतीय पत्रकारले भने-'कालापानी नेपालकै हिस्सा हो'

आजतकमार्फत वरिष्ठ भारतीय पत्रकारले भने-'कालापानी नेपालकै हिस्सा हो'

एकजना वरिष्ठ भारतीय पत्रकारले भारतीय मिडियामै कालापानीसहितको भूभाग नेपालकै भएको बताएका छन् । वरिष्ठ पत्रकार आनन्द स्वरुप बर्माले भारतीय चर्चित टेलिभिजन आजतक अन्तर्गतको रेडियोसँग शुक्रबार भएको संवाद यस्तो बताएका हुन्।

भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूभाग रहेको मत बर्माले आजतकमार्फत सार्वजनिक गरेका हुन् । यो विषयलाई दुवै देशले वार्ता गरेर समधान गर्न सकिने पनि उनले बताएका छन् । ‘कालापानी नेपालको हिस्सा हो,’ पत्रकार बर्माले भनेका छन्, 'सन् १९६२ मा चीनसँग युद्ध हुँदा कालापानीमा राजा महेन्द्र सरकारसँग अनुरोध गरेर भारतले केही समयका लागि सेना राखेको थियो,' उनले भने, 'तर त्यहाँ भारतीय सेनाले स्थायी अखडा बनाउँदा अहिले अवस्था जटिल भएको हो।'

कालापानी र लिपुलेकलाई लिएर नेपाल र भारतबीच पुरानो विवाद रहेको समेत उनले बताएका छन् । यो विषय बारम्बार चर्चामा रहेको उनले बताए। ‘दुवै देशका सरकारले यसको समाधानका लागि विलम्ब गरेका छन,’ उनले भनेका छन्,'वार्तामा बसेर यसको समाधान गर्नुपर्छ। नेपालको जमिन भारतले लिन चाहँदैन। भारत एउटा ठूलो राष्ट्र हो।' उनले भारतले हेपाहा व्यवहार गरिरहे नेपाल कतै ढल्किन सक्ने पनि बताएका छन्।