एमसीसी अलपत्र छोड्न मिल्दैन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीलाई अलपत्र छोड्न नमिल्ने बताएका छन् । विवादित एमसीसी प्रतिनिधि संसदको सम्पत्ति भइसकेको उनको भनाई थियो । आज सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुको प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले एमसीसी संसदको सम्पत्तिको रुपमा आइसकेको बताएका हुन् ।

उनले एमसीसी अघिल्लो सरकारले अहिलेको सरकारलाई हस्तान्तरण गरेको स्पष्टिकरण पनि दिए । ‘एमसीसी अघिल्लो सरकारले वार्ता गर्यो, सम्झौता गर्यो यो सरकारलाई हस्तान्तरण गर्यो,’ उनले भने, ‘अब अलपत्र छोड्न मिल्दैन । यो संसद्को सम्पत्तिका रूपमा आइसकेको छ।’

उनले एमसीसी संसदबाट पास गर्ने कि नगर्ने भन्नेबारे संसदमा छलफल गर्न सकिने पनि बताए । उनले एमसीसीको विषय कार्यान्वयन नगर्दा विश्वसनीयतामा प्रश्न उठ्ने पनि बताए ।